काठमाडौं- नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डाको विषयमा कुनै निर्णय गर्नु अघि सबैसँग छलफल गरेर मात्रै धारणा बनाउनु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री समग्र नेपालको नेतृत्व लिएर भारत भ्रमणमा जानु पर्नेभन्दै भारतले पनि नेपालको जटिलता र स्वाभिमानलाई गंभिरतापूर्वक लिनु पर्ने बताए ।
केसीले भारतसँगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्ने भन्दै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए ।
सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धी सम्झौत र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामि भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताएका छन ।
उनले भने,’ सरकारले गठन गरेको प्रबुद्ध ब्यक्तित्वहरुको समूह १९५० देखिका असमान सन्धी पुनरावलोकनसहित नेपाल भारत सम्बन्ध २१ औं शताब्दी सुहाउदो बनाउन सुझाव दिन गठन भएको हो । त्यसले प्रक्रिया अगाडि बढाइसकेको छ । दुई नेतावीच यस्ता कुरा गर्नु उपयूक्त हुँदैन ।’
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले भारतले नेपालमाथि गरेकेा नाकाबन्दीको विषयमा जवाफ दिनु पर्ने भन्दै त्यसपछि मात्रै सम्बन्ध सुमधुर बन्ने विश्वास ब्यक्त गरे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल भारत सम्बन्धलाई थप सुनिश्ति गर्ने गरी कुरा उठाउनु पर्ने भन्दै ब्यापार बाणिज्यलाई सरल बनाउने र भुपरिबेष्ठित मुलुकको अधिकार बाधित हुन नदिने विषयमा कुराकानी गर्नु पर्ने बताए ।






