धाक धम्कीको लहैलहैमा डराउँदिन : अख्तियार प्रमुख

lokman singh karkiकाठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफू धाक, धम्कीको लहैलहैमा नडराउने प्रष्ट पारेका छन् । आयोगको रजत जयन्तीका अवसरमा बिहीबार नेपाली जनताका नाममा अपील जारी गर्दै उनले आयोगविरुद्ध विभिन्न कोणबाट भइरहेको नकारात्मक टिप्पणीकोसमेत आलोचना गरेका छन् ।

‘आयोगले भोगेको असहजता र यथार्थलाई नजरअन्दाज गरी आयोगविरुद्ध विभिन्न कोणबाट गरिने केही मिथ्यापूर्ण अभिव्यक्तिलाई मैले अन्यथा मानेको छैन,’ उनले भनेका छन्, ‘नागरिक आँखाबाट हेर्दा आयोगले ठूला माछालाई कारवाहीको दायरामा ल्याओस् भन्ने अपेक्षा आफैंमा युक्तिसंगत नै छ तर आयोगले भ्रष्टाचारलाई ठूला वा साना माछाका रुपमा विभेद नगरी एउटा जघन्य आपराधिक प्रवृत्तिका रुपमा आत्मसात् गर्दै आएको छ ।’

भ्रष्टाचार नियन्त्रण अभियानको यसै सेरोफेरोमा पछिल्ला दिनमा आयोगले आफ्ना कारवाहीका हातहरुलाई जनअपेक्षा बमोजिम अघि बढाउने जमर्को मात्र गरिरहँदा आयोगविरुद्ध फेरि पनि आलोचनाका क्षीण स्वरहरु मुखरित भएको उनले उल्लेख गरेका छन् ।

प्रमुख आयुक्त कार्कीले भनेका छन्, ‘यति मात्र होइन, आयोग नेतृत्वप्रतिको आक्रोश महाअभियोगको तहसम्म लक्षित भएको छ । आयोगविरुद्ध कस्तो आग्रह हो ? ईश्वरप्रतिको अखण्ड आस्था र विश्वासको जगमा म आफ्नो कर्तव्यप्रति सदा अडिग छु । कुनै धाक, धम्कीको लहैलहैमा लागि म कदापि कर्तव्यच्यूत हुने र डग्मगाउने छैन । म हिजो पनि देश र जनताको सर्वोपरी हितलाई शिरोधार्य गरी कर्तव्य निर्वाह गर्न प्रतिबद्ध थिएँ र आज पनि छु । नेपाली जनताको आधारभूत अधिकारको प्रत्याभूति र समुज्जल भविष्य तथा नेपालको समृद्धि नै मेरो एक मात्र मनोकांक्षा हो र यो नै आयोगको रणनीतिक गन्तव्य पनि हो ।’