काठमाडौं- नेपाललाई विश्व स्काउटको सर्वोच्च पदक प्रदान गरिएको छ ।
नेपाल स्काउटका सल्लाहकार एवम् निवर्तमान प्रमुख आयुक्त श्रीराम लामिछानेलाई विश्व स्काउट सङ्गठनले सो सङ्गठनको सर्वोच्च पदक ब्रोन्ज ओल्फ प्रदान गर्ने निर्णय गरेको छ । स्काउटिङको विकासमा उल्लेखनीय योगदान गरेका व्यक्तिलाई सो पदक प्रदान गरिन्छ । सन् १९३५ मा स्थापित सो पदक पाउने लामिछाने ८० वर्षे इतिहासमा पहिलो नेपाली हुनुहुन्छ ।
यसअघि यो पदक पाउनेमा स्काउटिङ अभियानका संस्थापक लर्ड वेडेन पावेल, महिला स्काउटका संस्थापक लेडी वेडेन पावेल, स्विडेनका राजा कार्ल गुस्ताफ १६ औं, फिलिपिन्सका राष्ट्रपति फिडेल रामोस, लक्जम्वर्गका राजा सार जिन, साउदी अरेबियाका राजा अब्दुल्लाह बिन अजिज, थाइल्यान्डका नरेश भूमिबोल अब्दुलादेज तथा डेनमार्ककी राजकुमारी लगायत स्काउटको विकासमा विशिष्ट योगदान गरेका व्यक्ति हुनुहुन्छ ।
सो सङ्गठनले जनवरी २९ मा लामिछानेलाई सो पदक दिने घोषणा गरेको हो । घोषित पदक केही समयपछि एक अन्तर्राष्ट्रिय समारोहमा प्रदान गरिने विश्व स्काउट सङ्गठनले जनाएको छ ।
विश्व स्काउट अभियान सुरु भएको शताब्दी (सन् १९०७—२००७) का अवसरमा सन् २००७ मा नेपालको रसुवा जिल्लामा अवस्थित पाँच हजार ८९० मि अग्लो उर्केमा हिमशृङ्खलालाई वेडेन पावेल स्काउट हिमाल तथा त्यहाँ जाने पदमार्गलाई वेडेन पावेल स्काउट पदमार्गको नामाकरण गरी विश्वभरका स्काउटलाई साहसिलो कार्यमा अघि बढाउन उल्लेखनीय योगदान गरेकामा सो पदक प्रदान गरिएको उक्त सङ्गठनले जनाएको छ ।






