लन्डन,तमु समाज यूकेले ह्यारो लिजर सेन्टरमा ल्होछार धुमधामसंग मनाएको छ । दिउंसो धर्मगुरु लामा धरम गुरुङबाट पुजाआजा भएपछि सांझबाट सांस्कृतिक कार्यक्रमसहित औपचारिक कार्यक्रम गरिएको हो । कार्यक्रम संयोजक शिवकुमार गुरुङले हेल्थ एण्ड सेफ्टीबारे अवगत गराएपछि कार्यक्रम अघि बढेको थियो । ह्यारो बरोका मेयर अजय मरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रामचन्द्र गुरुङले ल्होछार पर्वको महत्वबारे प्रकाश पारे भने कार्यकाल हस्तान्तरण गर्दै गर्दा निवर्तमान अध्यक्ष शिवशरण गुरुङले स्वागत मन्तव्य दिए । उक्त अवसरमा नयां आजीवन सदस्यहरु, हाउजिङ प्रोजेक्टका दाता र ग्रयाजुएसन एवं डिग्री गर्ने तमु विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट समाजसेवी पदक समेत वितरण गरियो । नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ लगायतले सम्मान र ताम्रपत्र प्रदान गरेका हुन् । ल्होछार कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष अर्जुन गुरुङको नयां कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको छ । आमा समूहकी अध्यक्ष माया गुरुङले नवनिर्वाचित समितिलाई खादा र पुष्पगुच्छाले स्वागत गरिन् । पूर्व मिस यूके नेपाल दुर्गा गुरुङ र निरज गुरुङले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष टंकराम गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
लोकगायक मिलन लामा र दोहोरी गायिका कल्पना गुरुङले गायनबाट भरपुर मनोरञ्जन दिए । स्थानीय कलाकारहरुको नृत्य पनि विशेष आकर्षण बन्यो । सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी गगन गुरुङ र लक्ष्मी गुरुङले गरेका हुन् ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल, आइसीसी यूके सदस्य विनोद ज्ञवाली,बेलायत कांतिपुर संबाददाता नबीन पोखरेल , तमु ह्योला छोंज धिं गुरुङ राष्टिय परिषद केन्द्रिय समिति अध्यक्ष रेशम गुरुङ, सोलिसिटर राजु थापा, यती नेपाली एसोसिएसन यूके अध्यक्ष उमेश मोक्तान लगायत अतिथी र पत्रकार शिव भण्डारी, विमला सेने, फोटोपत्रकार ओमकार गुरुङ लगायत सहभागी थिए ।
तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स्मा ल्होछार मनायो । उक्त कार्यक्रमका विशेष अतिथी थिए, एनआरएनए आइसीसी अध्यक्ष शेष घले र कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथी । उक्त अवसरमा तमुधिं यूकेले शेष घलेलाई विधिवत रुपमा संस्थाको संरक्षक घोषणा गरेको छ । निवर्तमान अध्यक्ष कमल गुरुङले घलेलाई सम्मान गरेका थिए ।
तीन चरणमा विभाजित ल्होछार कार्यक्रममा ग्रयाजुएसन उत्तिर्णलाई सम्मान, डा. हर्क गुरुङ अवार्ड हस्तान्तरण, फ्रेंसी स्मारिका विमोचन र सांस्कृतिक कार्यक्रम गरिएको अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) ले जनाए ।
महासचिव नन्दजंग गुरुङले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष कमल गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा भए गरेका उपलव्धिको चर्चा गर्दै आफ्नो कार्यसमितिलाई पूर्ण सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उक्त अवसरमा औपचारिक रुपमा पुरानो कार्यसमिति विघटन गरि नयां कार्यसमितिले जिम्मेवारी लिएको छ ।
तेश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालकी चर्चित गायिका आस्था राउत प्रमुख आकर्षण बनिन् । गायिका राउतलाई गायक राजु गुरुङले साथ दिएका थिए
लन्डन र रेडिङमा एकैसाथ ल्होछार कार्यक्रम धुमधाम ले संम्पन्न






