विश्व क्यान्सर दिवसः समयमै उपचार गरे निको हुन्छ क्यान्सर

cancerचितवन- समयमा उपचार हुन नसक्दा बर्सेनि क्यान्सर रोगबाट धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

समयमै उपचार हुनसके ४० प्रतिशत रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर निको पार्न सकिने र बाँकीलाई पनि उचित उपचारबाट आयु लम्ब्याउन सकिने विज्ञको भनाइ छ । तर क्यान्सरका बिरामी अधिकांश अन्तिम अवस्थामा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

नेपालमा सबैभन्दा बढी क्यान्सरका बिरामी उपचार गर्दै आएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा चीनबहादुर पुन तेस्रो र चौथो स्टेजका बिरामी उपचारका लागि आउने गरेको बताउनुहुन्छ । रोग लाग्ने बित्तिकै बिरामी अस्पताल आउन सके उपचार सहज हुने भएपनि जनचेतनाको अभावका कारण अन्तिम अवस्थामा मात्रै अस्पतालसम्म आउने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शरीरको कुनै भागमा असामान्य वृद्धि, स्वर परिवर्तन, लामो समयसम्म खोकी, खकारमा रगतजस्ता लक्षण देखिए ढिला नगरी क्यान्सरको परीक्षण गराउनुपर्छ ।”

त्यस्तै, लामो समयसम्म कब्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखापर्नु, महिलामा महिनावारी नभएको बेलामा रगत देखिनु वा सहवास गर्दा रगत देखापर्नु, स्तनमा गाँठागुँठी देखिनु, मुन्टामा रगत मिसिएको दूध आउनुजस्ता लक्षण क्यान्सरका भएको पनि उहाँले बताउनुभयो ।

शरीरमा गिर्खा, गाँठागुँठी देखिनु, शरीरमा भएका कोठी र मुसाको रङ्ग बदलिनु र आकार परिवर्तन हुनु, छोटो समयमै शरीरको वजन घट्नु, रक्तअल्पता देखिनु, ज्वरो आइरहनु, धेरै दिनसम्म टाउको दुखिरहनु, वान्ता हुनु, रिङ्गटा लाग्नु, आँखा धमिलो देखिनु वा कम्पन आउनु क्यान्सरका लक्षण भएको मानिन्छ ।