कांग्रेसमा सभापति दाबेदारमात्रै आधा दर्जन

Congress-flag1काठमाडौं- कांग्रेसको आगामी महाधिवेशनमा सभापतिका दाबेदारमात्रै आधा दर्जन निस्किएका छन् ।

सभापतिका लागि नेतात्रय सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको तयारी सुरु भइसकेको छ ।

यसबाहेक पार्टीलाई युवाको काँधमा लैजानुपर्ने भन्दै महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र रामशरण महतले सभापतिमा चुनाव लड्ने घोषणा गरेका छन् । कोइराला, देउवा र पौडेलबाहेकले पदाधिकारीमा बार्गनिङ गर्न सभापति दाबी गरेको स्रोतले जनाएको छ ।

सिटौला, केसी, महत र सुजाताले देश दौडाहा गर्दै सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन् भने सिंहले गत आइतबार सभापतिले बोलाएको परामर्श बैठकमा सभापतिको आकांक्षी रहेको खुलासा गरेका हुन् ।

संस्थापन पक्षसँग नजिक रहेका यी पाँचैजनाले कोइराला र पौडेललाई विश्राम गर्न आग्रह गर्दै नेतृत्वका लागि नेतात्रयसँग सहयोगको आग्रह गरेका छन् । उनीहरू सबैको तर्क पार्टी सभापति कोइराला अलोकप्रिय भएको र समयअनुसार पार्टीलाई सञ्चालन गर्न नयाँ पुस्ता नेतृत्वमा जानुपर्ने भन्ने छ ।