साउदी अरब- रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् ।
साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । सडक निर्माण क्षेत्रमा कार्यरत ती कामदार तलब पाउन नसक्दा भोकभोकै बस्न बाध्य छन् । उनीहरु कम्पनीले खटाएको क्षेत्रमा अलपत्र परेका छन् ।
अधिकांश नेपाली कामदारको आवास अनुमति (अकमा) नवीकरण नगरिएका कारण कार्यालय फर्कन सकेका छैनन् । उनीहरु बीच बाटोमै अलपत्र परेको बताइएको छ । सडक निर्माणका लागि साउदीको विभिन्न स्थानमा कार्यरत कामदारसँग कागजात नभएका कारण समस्या परेको र भोकभोकै बस्नुपर्ने स्थिति आएको सर्लाहीका देव मैनालीले बताउनुभयो ।
“खाने बस्ने कुनै टुङ्गो छैन, खुला आकाशमूनी सुत्न बाध्य छौँ” पीडित मैनालीले सहयोगको याचान गर्नुभयो । आफूहरुको उद्धारका लागि दूतावासका कर्मचारी हरि घिमिरेलाई दुई साता अघि जानकारी गराएको तर पहल हुन नसकेको उहाँले गुनासो गर्नुभयो । अन्य मुलुकका कामदारलाई दूतावासले खाने, बस्ने प्रबन्ध मिलाउने गरेपनि नेपाली दूतावासले भने कुनै चासो नदिएको मैनालीको भनाइ छ ।






