काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ गरेका छन् ।
भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले शनिबार रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेकी हुन् । वैशाख १२ को विनाशकारी भूकम्पले रानीपोखरीमा पनि क्षति पुगेको छ ।
प्रधानमन्त्री ओलीले ललितपुरको बुङ्गमतिबाट पुनर्निर्माण महाअभियान सुरुवात गरे ।
रानीपोखरीमा आयोजित कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, सुशील कोइराला, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार, कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।
पुनर्निर्माण प्राधिकरणको कार्ययोजना अनुसार औपचारिक उदघाटन भएपनि पुनर्निर्माण भने तीन महिनापछि मात्र सुरु हुनेछ ।
कार्यक्रममा प्रधानमन्त्रीले पुनर्निर्माणसँगै नवनिर्माण सुरु भएको जानकारी दिए ।
कार्यक्रममा विदेशी दाता तथा कुटनीतिज्ञको पनि उपस्थिति थियो ।






