काठमाडौं, पुस १९ – पछिल्लो एक वर्षमा नेताहरुले कति वटा बैठक गरे होलान् ? कति समय बैठक गरे होलान् ? हिसाब गर्दा औसत दुई दिनमा एक दिन नेताहरुले बैठक गरेका छन् । एउटा बैठक औसतमा एक घन्टा चल्ने गरेको छ । त्यसरी हेर्दा करिब डेढ सय दिन र त्यति नै घण्टा नेताहरु संविधान निर्माणका लागि बैठकमा बसेका छन् । यति हुँदा पनि शुक्रबारसम्म नेताहरुको मेहेनतले ठोस आकार लिन सकेको छैन । यतिबेला संविधानको खाका ल्याएर ताली खानुपर्ने नेताहरुले गाली मात्र पाइरहेका छन् ।’अनौपचारिक बैठकमा एमाओवादी नेताहरु संघीयतालगायतका बिषयमा लचिलो ढंगले प्रस्तुत हुन्छन्, कांग्रेस र एमालेका नेताहरु पनि आफू पूर्व अडानमा पुनर्विचार गर्न तयार हुन्छन्,’ नियमित बैठकमा सहभागि भइरहने एक नेताले भने, ‘तर जब सहमति गर्न औपचारिक बैठक बस्छ, सबै कुरा बिगि्रन्छ ।’दलको शीर्ष बैठकमा प्रधानमन्त्री सुशील कमै बोल्छन् । उनले सबैले जित्नेगरी संविधान ल्याउने कुरा गर्छन् । उनले सबभन्दा दाहोर्याउने वाक्य हो, ‘हामीले विन-विन हुने गरी संविधानमा सहमति गर्नुपर्छ ।’ तर, उनी सबैले जित्ने गरी कसरी संविधान ल्याउनुपर्छ भन्नेबारे चाहिँ खासै खुलाउँदैनन् । सुशीलले सँधै दोहोर्याउने यो भनाईलाई व्यंग गर्नेगरी एमाओवादी नेता डा. बाबुराम भट्टराईले बिहीबार टि्वट पनि गरे- ‘दुवै पक्षलाई विनविन हुने गरी रेप|mीले नै गोल हान्ने नयाँ खेलको नाउँ के राख्नु उपयुक्त होला ?’एमाओवादी अध्यक्ष दाहाल बिच्किदा भने कोइराला फकाउने प्रयास गर्छन् । तर, कोइरालासँग दाहाललाई मान्य हुने ठोस प्रस्ताव हुँदैन । कोइरालाको प्रस्ताव लिएर महामन्त्री सिटौला प्रायः एक दिन बिराएर दाहाल निवास लाजिम्पाट पुग्छन् । कोइराला र दाहालबीच कुराकानी हुँदा कोइराला सकरात्मक हुने भए पनि तीन दलको शिर्ष बैठकमा ‘कमान्ड’ लिन सक्दैनन् । सिंहदबार कमै आउने उनी बालुवाटारतिरै अलमलिएका छन् ।
दाहाल कहिलेकाहीँ लचक भएर सहमति गर्ने मनस्थितिमा पुग्छन् । तर, उनको नेतृत्वमा रहेका ३० दलीय मोर्चा उनले सोचजस्तो लचकता अपनाउने पक्षमा छैन । अझ मधेशी दलहरुले निरन्तर एमाओवादीमाथि दबाव सिर्जना गरेका छन् । पहिचानसहितको संघीयताबारे मधेशी दल अलिकति पनि लचक हुनु हँुदैन भन्ने पक्षमा छन् ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले टि्वटर र अन्य माध्यमबाट संविधान बनाउने हतारो व्यक्त गरिरहेका छन् । दाहाल र नेपाल फिल्म हलमा पुगेको केही दिनमा भट्टराई भने ठमेल पुगे, अंग्रेजी नयाँ वर्ष मनाउन । ठमेलको एक रेष्टुरेन्टमा पत्नी हिसिला, छोरी मानुषी र अन्यसँग नयाँ वर्ष मनाइरहेको तस्वीर उनले बुधबार फेसबुकमा अपलोड गरेका थिए ।
विज्ञहरू भने शीर्ष नेताहरुका बैठक र सहमतिको प्रयासमा सत्ताको खेल लुकेको बताउँछन् । राजनीतिशास्त्री खड्ग केसी भन्छन्, ‘सत्तामा भइरहेकालाई निरन्तरता दिन र नभएकाहरु त्यसलाई भत्काउन चाहन्छन् ।’ ‘अर्को कारणचाहिँ बहुमतले अल्पमतको मुद्दालाई सहजै किन मान्ने भन्ने पनि छ,’ उनी भन्छन्, ‘संविधान सत्ताको लेनदेनमै अडकिएको देखिन्छ ।’






