भोकमरीले घाँस खान बाध्य स्थानीयलाई खाद्यान्न पुर्‍याउन थालियो

news-pic1

सिरिया। द्धन्द्धको चपेटामा परेको सिरियाको मदाया सहरमा भोकमरीका कारण घाँस खान बाध्य स्थानीयलाई खाद्यान्न पुर्‍याउन सुरु गरिएको छ ।

विश्व खाद्य कार्यक्रमले करिब ४० हजार मानिसका लागि एक महिना पुग्ने गरी खाद्यान्न र औषधि पुर्‍याइने जनाएको छ । मदायाका बासिन्दा विगत ६ महिनादेखि सरकारी सेनाको घेराबन्दीमा फसेका थिए ।

त्यसयता उनीहरुले कुनै सहयोग पाएका छैनन् । चर्को खाद्यान्न अभावका कारण केहीको मृत्यु भएको छ ।

मदाया सहरमा कुकुर र बिरालो पनि पाउन छाडिएको छ । यतिमात्रै होइन, त्यहाँ भोकमरीका कारण रुखका पातसमेत पाउन छाडेको बताइन्छ ।

विश्व खाद्य कार्यक्रमले विद्रोही नियन्त्रित उत्तरी इदिवका दुई गाउँमा पनि सहयोग पुर्‍याउने जनाएको छ ।

सिरियाको गृहयुद्धमा फसेका मानिसलाई सहयोग सामग्री पुर्‍याउनु ठूलो समस्या बन्दै आएपनि लेबनानसँग सीमा जोडिएको मदायाका बासिन्दाको अवस्था भने अत्यन्तै दयनीय बनेपछि अन्तर्राष्ट्रिय चासो बढेको थियो ।

गत वर्षको जुलाईमा सरकारी सेना र लेबनानको सिया इस्लामिक हिजबुल्लाहले मदाया सहर नियन्त्रणमा लिएका थिए ।

सिरियामा जारी द्धन्द्धका कारण करिब ४५ लाख मानिस बाहिरी संसारको पहुँचबाहिर रहेको बताइन्छ ।

विभिन्न समूहको नियन्त्रणमा रहेका १५ ठाउँका करिब ४ लाख मानिस भने सामान्य मानवीय सहयोग पाउनबाटसमेत बन्चित छन् ।

सिरियामा राष्ट्रपति बशर अल असादको शासनविरुद्ध विगत पाँच वर्षयताको संघर्षका कारण २ लाख ५० हजार मानिस मारिएका छन् भने १ करोड १० मानिस थातथलो छाड्न बाध्य भएका छन् । (एजेन्सी)