नेपाली कांग्रेस सबैभन्दा उच्च निकायको बैठक शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास वालुवाटारमा बसेको छ । बैठकले नयाँ संविधानमा समावेश हुने विवादित विषयमा सहमति गर्न अन्य दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकले आगामी माघ ८ मा संविधान जारी गर्ने दलहरुकै साझा प्रतिबद्धता भएकाले सो मितिमा संविधान जारी गर्न दलहरु थप गम्भीर र जिम्मेवार बन्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।
पार्टीका सहमहामन्त्री पूर्णबहादुर खड्काले विवादित विषयमा दलबीचमा सहमति कायम गर्न कांग्रेसले नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी, मधेसवादी दलसँग छुट्टाछुट्टै एवम् सामूहिक छलफल गर्ने निर्णय गरेको बताए ।
दलहरुबीच नयाँ संविधानमा राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा विवाद छ ।
बैठकमा प्रधानमन्त्री तथा सभापति कोइरालाले नेपाली जनताको चाहना अनुरुप आगामी माघ ८ मा नयाँ संविधान जारी गर्नुको अर्काे विकल्प नरहेको भन्दै यसका लागि आफ्नो पार्टीले अधिकतम् लचकता अपनाउनुपर्ने संकेत गरेको बताइएको छ ।
विवादित विषयमा दलहरुसँग सहमति कायम गर्नका लागि भइरहेका प्रयासका बारेमा उपसभापति रामचन्द्र पौडेलले नेताहरुलाई जानकारी गराएका थिए ।
बैठकमा सभापति कोइराला, उपसभापति पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतका पार्टीका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।






