सिङ्गो राष्ट्रको ध्यान संविधान निर्माणमा केन्दि्रत : खनाल

jhalanath khanal
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाले निर्धारित समयमै संविधान जारी गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले संविधान तयारी अवस्थामा रहेको र केही विषयमा रहेका मतभिन्नतालाई सहमतिबाट समाधान खोजिने स्पष्ट गरे । त्यसो नभए माघ ८ गते नै संविधान जारी गर्न प्रक्रियामा लगिने उनले बताए ।

आफूहरु बितन्डा मच्चाउने पक्षमा नरहेको उल्लेख गर्दै नेता खनालले बन्द, हडताल र १० वर्षको द्वन्द्व मुलुकले झेलिसकेकाले अब त्यस्ता गतिविधिबाट कोही पनि नतर्सने बताए ।

संविधान निर्माण हुनुअगावै वा संविधान जारी भएपछि सरकार परिवर्तन हुने संभावनाबारे पत्रकारले राखेको जिज्ञासामा उनले यतिखेर सिङ्गो राष्ट्रको ध्यान मात्र संविधान निर्माणतर्फ केन्दि्रत रहेको बताए ।