महामहिमज्यू, चार महिना बितिसक्यो, शव पठाउन अझै कति लाग्छ ?

death body

साउदी (अरब)- रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव चार महिना बढी बितिसक्दासम्म पनि स्वदेश पठाइएको छैन ।

कार्यस्थलमै दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव स्वदेश पठाउन ढिलाइ हुँदा साउदीको एक अस्पतालमा अलपत्र परेको छ ।

रोकाका परिवारले शव झिकाइदिन हारगुहार गरे पनि शव पठाउने प्रक्रियामा पहल हुन नसकेको बुझिएको छ । रोकाको शव स्वदेश पठाउने विषयमा पटक÷पटक दूतावासलाई आग्रह गरिए पनि पठाउन नसकिएको स्याङ्जाका लाल शर्मा पौडेलले बताउनुभयो ।

“शव पठाइदिन अनुरोध गर्दा गर्दै साढे चार महिना बितिसक्यो, दूतावासले भइहाल्छ भन्छ, तर शव पठाउन सकिएको छैन, खोइ अझै कति समय लाग्ने हो”, पौडेलले दुःखेसो पोख्नुभयो ।

साउदीको ‘अल टुरिफस्थित अल जोउफ’ सिमेन्ट कम्पनीमा क्याम्प सुपरभाइजरका रुपमा कार्यरत रोकाको ग्यास पाइप सफा गर्ने क्रममा दुर्घटनामा परी गत भदौ ३ गते कार्यस्थलमै मृत्यु भएको थियो ।

साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले भने दूतावासले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको भए पनि यहाँका केही कानुनी प्रक्रिया र रोजगारदाता कम्पनीका कारण शव पठाउन ढिलाइ भएको बताउनुभयो । रोकाको परिवारमा वृद्धा आमा, श्रीमती र एक नाबालक छोरा छन् ।