काठमाडौं– लन्डन र काठमाडौंमा बस्ने दुई कवि एवं गीतकारले संयुक्त एल्बम बजारमा ल्याएका छन् ।
लन्डनमा बस्दै आएका कवि एवं गीतकार कृष्णबहादुर थापा क्षेत्री र काठमाडौंका कवि एवं गीतकार रमेश अधिकारीको संयुक्त एल्बम ‘शब्दसागर’ काठमाडौंमा सार्वजनिक गरिएको छ ।
बीएफबीएस रेडियोका स्टेशन म्यानेजर विनोदविक्रम खड्का, कार्यक्रम सञ्चालिका तुलसी बस्नेत र गीतकार अधिकारीले संयुक्तरुपमा एल्बम सार्वजनिक गरेका हुन् ।
‘शब्दसागर’मा ‘थाहा भए…’ र ‘सोझो मान्छे म…’को शब्द क्षेत्री र ‘तिमीलाई माया…’ र ‘भूल भयो जिन्दगीलाई…’को शब्द अधिकारीले लेखेका हुन् ।
एल्बममा कुन्ति मोक्तान, जगदीश समाल, रामचन्द्र काफ्ले, जुन रिजाल र मेघ लामाले स्वर दिएका छन् । संगीत भने शिलाबहादुर मोक्तान, सम्राट थापा, अर्जुन नेपाली र मेघ लामाको छ ।
क्षेत्री डायस्पोरामा बसेर साहित्य सिर्जनामा क्रियाशील छन् भने अधिकारीका ११ वटा एकल एल्बम र ५ वटा पुस्तक प्रकाशन भइसकेका छन् ।






