बागलुङ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले आउँदो महाधिवेशनले काँगे्रसको मूल नेतृत्व परिवर्तन गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन, बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले पुरानै नेतृत्व दोहोरिन नसक्ने धारणा राख्नुभयो ।
सुशील कोइराला पुनः सभापति हुने सम्भावना नरहेको भन्दै उहाँले अर्को विकल्प आउनसक्ने संकेत गर्नुभयो ।
‘अहिलेकै सभापति फेरि सभापति हुने कुरा आउँदैन’ नेता महतले भन्नुभयो ।
सहमति बन्ने अवस्थामा नेता शेर बहादुर देउवा र वर्तमान उपसभापति रामचन्द्र पौडेल पनि सभापति बन्ने सम्भावना जीवित रहेको नेता महतले बताउनुभयो । नेता महतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार हटाउने अभियानमा नलागेको प्रष्ट पार्नुभयो । ‘हामी अहिलेको सरकार हटाउने अभियानमा छैनौं, बरु सरकार आफ्नै गतिविधि र बोझले हट्ने सम्भावना म देख्छु’ नेता महतले भन्नुभयो ।






