एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले माघ ८ मा नयाँ संविधान आउने सम्भावना टर्दै गएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ धादिङले धादिङवेँसीमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले अबको चार दिनभित्र प्रमुख राजनीतिक दलबीच सहमति जुट्न नसके संविधान पनि आउन नसक्ने धारणा राख्नुभयो ।
अब चार दिनभित्र संविधान जारी गर्न राजनीतिक सहमति गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा समय दिएकाले सोही अवधिमा सहमति खोज्ने बताउँदै सहमति नभए माघ ८ भित्र संविधान नबन्ने उहाँले बताउनुभयो । देशमा अब तेस्रो संविधानसभाको सम्भावना नभएकाले यही संविधानसभाले नयाँ संविधान निर्माण गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।
एक फरक प्रसङ्गमा उहाँले अहिले एनेकपा–माओवादीभित्र कुनै प्रकारको विवाद नरहेको र एमाओवादी चाँडै नै महाधिवेशन गराउने पक्षमा रहेको बताउनुभयो । उहाँले एमाओवादी अब फुट तिर नलाग्ने बरु यसअघि फुटेर गएका मोहन वैद्यलगायत अन्यसँग एकीकरणको प्रयास जारी रहेको र चाँडै नै त्यसले सार्थकता पाउने बताउनुभयो ।
माघ ८ मा संविधान आउँदैनः अध्यक्ष दाहाल






