काठमाडौं– एक दर्जन नेपाली र केही हलिउडमा फिल्म खेलेका नेपाली अभिनेता रेस मरठ्ठाले सञ्जय शर्मा निर्देशित बलिउडको नयाँ फिल्म ‘नेसनल ट्रिजर : द ब्लड रन’ मा मुख्य नायकको भूमिका निर्वाह गरेका छन्।
यो फिल्म सन् २०१६ को अन्तिमसम्म विश्वव्यापी प्रदर्शनमा आउने अभिनेता मरहठ्ठाले बताए। अपने, गदर, वीरजस्ता चर्चित बलिउडम फिल्म बनाएको संकेतन ब्यानरले निर्माण गरेको यो फिल्मबाट निर्माता अनिल शर्माले आफूलाई बलिउडमा उतारेको उनले बताए।
एक्सन प्रधान यो फिल्मको छायांकन नेपाल, बेलायत, अमेरिका र स्विडेनमा गरिएको पनि उनले बताए। मरहठ्ठाका अनुसार यो फिल्ममा विभिन्न देशका कलाकार छन्। जसमा मुख्य खलपात्रको भूमिका टाइटानिक फिल्मका कलाकार जरी कुन्नुनिनले गरेका छन्।
आफ्नो यसअघिको काम देखेर अनिल र सञ्जयले आफूलाई सो फिल्ममा लिएको पनि यी अभिनेताले जानकारी गराए। हालै सिंगापुरमा सम्पन्न एसियान युथ आइकनको उपाधि जितेका रेस यो फिल्म सफल हुनेमा आशावादी छन्। यसले आफूलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने उनको भनाइ छ।
एक दशकअघि बलिउड फिल्म देशमा उनले मुख्य भूमिका निर्वाह गरेका थिए। निर्देशकको निधन भएपछि सो फिल्म पूरा भएन। त्यसपछि उनले नेपाली चलचित्र चाहन्छु म तिमीलाई नै मा मुख्य भूमिकासँगै चलचित्र यात्रा सुरु गरेका थिए।






