बाबुरामको नयाँ शक्तिमा कस कसको साथ ?

baburam bhattarai

काठमाडौं- नयाँ राजनीतिक शक्ति गठनको अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो अभियानमा चार बुँदे सहमति जुटाएका छन् ।

विभिन्न व्यक्तित्वसँगको छलफलमा यस्तो सहमति जुटेको भट्टराईको सचिवालयले विज्ञप्तिमार्फत जनाएको हो ।

भट्टराईको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ विचार, राजनीति, सुसंस्कार, संस्कृतिसहितको वैकल्पिक राजनीतिक शक्तिको सोच राख्ने शक्ति तथा व्यक्तिहरुबीच छलफल सम्पन्न भयो ।’

छलफलमा सहभागीहरुले वैकल्पिक विचार, सुसंस्कार, संस्कृतिसहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्नेकुरामा सहमति जनाएको सो विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा सहमति जनाउँदै सहभागीहरुले वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा जोड दिएका छन् ।

उनीहरुले वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचारसहितको राजनीति, देशको विकास र समृद्धि हो भन्नेमा पनि सहमति जनाएका छन् ।

उनीहरुले वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति आग्रहसमेत गरेका छन् ।
यस्तो सहमति जनाउनेमा नेपाली कांग्रेसका सांसद प्रदीप गिरीसमेत छन् ।

सहमति जनाउने अन्यमा पूर्व सचिव रामेश्वर खनाल, विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासहित गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ, अनुषा थापा रहेका छन् ।

त्यस्तै डा. केशवमान शाक्य, पासाङ शेर्पा, तिलक थापामगर, डा. प्रविण मिश्र, अभिनेता सरोज खनाल र अनुसन्धानकर्ता भाष्कर गौतम पनि उक्त सहमतिकर्तामा सामेल छन् ।

१. डा. बाबुराम भट्टराई – नयाँ शक्ति निर्माण अभियान
२. प्रदीप गिरी – व्यवस्थापिका–संसद् सदस्य
३. रामेश्वर खनाल – पूर्व अर्थसचिव
४. उज्वल थापा – अध्यक्ष, विवेकशील नेपाली
५. गोविन्दनारायण तिमल्सिना – विवेकशील नेपाली
६. रमेश पौड्याल – विवेकशील नेपाली
७. अभिषेक बस्नेत – विवेकशील नेपाली
८. पुकार बम – विवेकशील नेपाली
९. जीवन श्रेष्ठ – विवेकशील नेपाली
१०. अनुषा थापा – विवेकशील नेपाली
११. देवेन्द्र पौडेल – नयाँ शक्ति निर्माण अभियान
१२. रामचन्द्र झा – नयाँ शक्ति निर्माण अभियान
१३. केशव दाहाल – वैकल्पिक विचार मञ्च
१४. डा. केशवमान शाक्य –
१५. पासाङ शेर्पा – जनजाति अगुवा
१६. तिलक थापा मगर – नेपाल कम्युनिष्ट पार्टी
१७. डा. प्रविण मिश्र – पूर्व स्वास्थ्य सचिव
१८. सरोज खनाल – अभिनेता
१९. भाष्कर गौतम – अनुसन्धानकर्ता

२०७२ पुस २