
काठमाडौं- भारतीय राजदूत रणजित रायले मधेसी मोर्चालाई मनाउने प्रयास गरेका छन् ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको दोस्रो तहका नेतालाई दूतावास बोलाएर भारतीय राजदूतले सरकारसँग सहमति आग्रह गरेको बताइएको छ ।
अपरान्ह ४ बजे दूतावास छिर्नेमा संघीय समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत, शिवजी यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव मनीषकुमार सुमन तथा तमसपा वरिष्ठ नेता रामनरेश राय यादव छन् ।
तीमध्येका एक नेताका अनुसार भेटमा राजदूत रायले शुक्रबार कांग्रेस नेतासँग भएको भेटको प्रसंग उप्काउँदै सुशील कोइराला नेतृत्वको सरकारले अगाडि बढाएको संविधान संशोधन विधेयक पारित गर्नेबारे उनीहरूको धारणा जान्न चाहेका थिए ।
जवाफमा तमलोपा उपाध्यक्ष त्रिपाठीले भूकम्पपीडितलाई राहत दिलाउन र मानवीय हिसाबले कांग्रेस नेताहरूकै आग्रहमा पुनर्निर्माण विधेयक पारित गर्न सहमति दिएको बताएका थिए । तर, त्यसलाई कांग्रेसले मोर्चाको कमजोरी ठानेर फाइदा उठाउन खोजेको र त्यो आफूहरूलाई स्वीकार्य नरहेको त्रिपाठीले बताएका थिए ।






