काठमाडौं- गृहमन्त्री शक्तिबहादुर बस्नेतले पदको दुरुपयोग गर्दै भूकम्पपीडितका नाममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी नातिनीलगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउने तयारी गरेका छन् ।
सिचुवान प्रान्तको कुन्मिङ र छेन्दुङ सहरको ७ दिने अवलोकन भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र ववितासमेत छन्। भूकम्पपीडित जिल्लाका १५ देखि ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी-नातिनी स्मिता प्रधान, दृष्टि केसी, सन्ध्या केसी र प्रतिमा पाठक छन्।
भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्य अञ्जना विसंखेकी छोरी स्वस्तिका र स्वकीय सचिव एवं जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरी पनि छन्।
मन्त्री बस्नेतका गाडी चालक किरण बोगटी र मन्त्री पत्नी सत्या पहाडीकी फुपूका छोरा सूर्य गुरुङकी पत्नी पनि चीन सयर गर्दै छन्। टोली शुक्रबार चीन जाने र पुस २ मा स्वदेश फर्किने कार्यक्रम छ।






