काठमाडौं- उपन्यासकार कृष्ण धरावासीको उपन्यासमा आधारित अघिल्लो वर्षको सफल चलचित्र ‘झोला’को निर्माण टिमले चलचित्र पाइरेसीविरूद्व प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
केहि दिन अगाडि सफल चलचित्र ‘झोला’ पाइरेसीसँगै अनधिकृत रूपमा सामाजिक सञ्जाल युट्युबमा हालिएपछि चलचित्रको निर्माण टिमले शंकास्पद मानिएको माउन्टेन रिभर फिल्मस् प्रालिका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरीय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । ‘झोला’ निर्माण टिमले प्रतिलिपि अधिकार हनन् मुद्दाअन्तर्गत उक्त कम्पनी र झालाई विपक्षी बनाई उजुरी दर्ता गराएको हो । उजुरीसँगै ५ करोडको क्षतिपूर्तिसमेत माग गरिएको छ । पहिलो प्रदर्शनमा हिट बनेको यो फिल्मको आगामी माघ महिनामा पुनः प्रदर्शनको तयारीमा निर्माण टिम लागेको थियो ।
चलचित्र निर्माण टिमले माउन्टेन रिभर फिल्मस् कम्पनीलाई विदेशमा प्रदर्शन तथा प्रचारकालागि दिइएको फाइल नै युट्युबमा आएपछि अनाधिकृत कामविरुद्ध प्रहरीमा उजुरी दर्ता गराइएको निर्माण युनिटको दाबी छ ।
पाइरेसीविरुद्व जाहेरी परेपछि आइतबार प्रहरीले आवश्यक छानबिनका लागि झालाई नियन्त्रणमा लिने प्रयास गरे पनि उनी भारतको नयाँदिल्लीमा रहेकोले उनलाई नियन्त्रणमा लिन सकेन । यस्तै उक्त कम्पनीकै अफिसबाट पाइरेसी भएको र त्यहाँकै कम्प्युटरबाट युट्युबमा अपलोड भएको ठहर गर्दै प्रहरीले कालिकास्थानमा रहेको माउन्टेन रिभर फिल्मस् प्रालिको अफिसको सबै सामान भने नियन्त्रणमा लिएको छ ।






