काठमाडौँ- धनुषाका पुष्पेन्द्रकुमार गोइत र नेपाल प्रहरीकी चन्द्रकला लामगादेले भारतमा हुने बाह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएका पुरुषको लङजम्पमा गोइतले ७.०९ मिटर छलाङ पार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले कृष्णबहादुर गिरीले बनाएको ७ मिटरको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन् ।
गिरीले सन् १९९९ मा भएको आठौँ दक्षिण एसियाली महासङ्घीय खेलकुदका लागि आयोजित छनोट प्रतियोगितामा कीर्तिमान रचेका थिए । प्रतियोगितामा नेपाल आर्मी क्लबका छविलाल चौधरी दोस्रो तथा डिल्ली खत्री तेस्रो भए ।
त्यसैगरी प्रहरीकी लामगादेले भने महिलाको सटपुट (छेलो) मा १०.७५ मिटर फाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले सन् १९८६ मा वीरगन्जमा भएको राष्ट्रिय एथलेटिक्समा मन्जु श्रेष्ठले कायम गरेको १०.६९ मिटरको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।
प्रतियोगितामा आर्मीकी सीता शाही दोस्रो भइन् भने प्रहरीकी वसन्ती चौधरीले तेस्रो स्थान हासिल गरिन् ।
त्यसैगरी पुरुष ४०० मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ४९.७ सेकेन्ड समय खर्चेदै पहिलो भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल (एपीएफ) का आशिष चौधरी दोस्रो भए भने आर्मीका हिमाल केसी तेस्रो ।
सोही स्पर्धाको महिलामा एपीएफकी दिलमाया कार्कीले ५८.८ सेकेन्ड समय खर्चर्दै पहिलो स्थान हासिल गरिन् । प्रहरीकी मानमति विष्ट दोस्रो र एपीएफकी सविता चौधरी तेस्रो भए ।
महिला लङजम्पमा आर्मीकी कृष्णा चौधरी ५.२६ मिटर हाम फाल्दै पहिलो भइन् । एपिएफकी शीला चौधरी दोस्रो र आर्मीकी रमिता चौधरी तेस्रो भए । पुरुष सटपुटमा आर्मीका राजेन्द्र बस्नेत पहिलो भए । उनले १३.८७ मिटर टाढा फाले । एपीएफका पुस्कल खड्का दोस्रो र प्रेम हुचिङ तेस्रो भए । प्रतियोगिता भोलि शनिबार सम्पन्न हुनेछ ।






