
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले मुलुक अनिश्चिततातर्फ गइरहेकाले मधेस आन्दोलनको तत्काल निकास निकाल्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा सोमबार राजधानीमा जिल्ला कार्य समिति काठमाडौँले आयोजना गरेको दबाब र्यालीमा बोल्दै काठमाडौँ क्षेत्र नं ४ का सभासद्समेत रहेका थापाले मधेसको मागलाई तत्काल सम्बोधन गरी मुलुकलाई निमार्णको बाटोमा लैजानुपर्ने धारणा राख्नुभयो ।
संविधानले सबै वर्ग, समुदाय र परिवेशका जनतालाई समेटेको बताउँदै थापाले संविधानमा भएका विषयलाई जनतासम्म पुर्याउन सरकार असफल भएको उल्लेख गर्नुभयो ।
उहाँले दैनिक उपभोग्य सामग्री, औषधि तथा इन्धनको आपूर्तिका लागि गम्भीर हुनुपर्ने र आन्दोलनरत दललाई सहमतिमा ल्याई निर्दोष जनताको जीवन रक्षा गर्न सरकारसँग माग गर्नु भयो ।






