काठमाडौं- संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले इन्धन, खाना, औषधि र खोपको बढ्दो अभावले यो वर्षको जाडो महिनामा नेपालका ५ वर्षमुनिका ३० लाखभन्दा धेरै बालबालिका बिरामी वा मृत्युसमेत हुन सक्ने डरलाग्दो चेतावनी दिएको छ।
युनिसेफले सोमबार एक वक्तव्य जारी गरी नेपालले नयाँ संविधान जारी गरेपछि भएको अशान्ति र प्रदर्शनले १० साताभन्दा लामो समयदेखि देशको दक्षिणी नाकामा अत्यावश्यक सामाग्रीको आयातमा निकै अवरोध भइरहेको जनाइएको छ। विभिन्न विकास क्षेत्रमा रहेका सरकारका औषधि गोदाममा क्षयरोगविरुद्ध लगाइने बीसीजी खोप समाप्त भइसकेको र अन्य खोप तथा एन्टिबायोटिकको मौज्दात पनि निकै कम भएको युनिसेफले जनाएको छ।
गत वैशाखमा गएका दुईवटा ठूला भूकम्पको असर भोगेका बालबालिका अहिलेको अवस्थामा सबैभन्दा नराम्रोसँग प्रभावित भएका छन्। ती धक्काहरूबाट प्रभावित २ लाखभन्दा धेरै परिवारहरू अझै पनि समुद्री सतहबाट १ हजार ५ सय मिटरभन्दा माथिको उचाइमा रहेका अस्थायी आश्रयमा बसिरहेका छन्। त्यहाँको मौसमी अवस्था अहिलेको जाडोमा झन् कठोर हुँदै छ।
‘अत्यधिक जाडो, कुपोषणको जोखिम, जीवन जोगाउने औषधि र खोपको अभाव एकैचोटि थपिँदा यो जाडो थप घातक हुन सक्छ’, युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले भन्नुभयो– ‘हालै गरेको नेपाल भ्रमणमा मैले धेरै भूकम्प प्रभावितहरूले बिताइरहेको जोखिमपूर्ण दैनिकी देखेको छु।’
अहिलेको इन्धन अभावले आगो बाल्न दाउरामा भर पर्नुपर्ने अवस्था बढ्दै जाँदा घरभित्र धूवाँले हुने प्रदूषण बढाइरहेको छ। यसले निमोनियाका घटनाहरू बढाउन सक्छ। गत वर्ष मात्रै ५ वर्षमुनिका ८ लाखभन्दा धेरै बालबालिका निमोनियाबाट प्रभावित भएका थिए, जसमध्ये करिब ५ हजार जनाको मृत्यु भएको थियो।
आगामी दुई महिनामा नेपालमा जन्मिने अनुमान गरिएका १ लाख २५ हजार नवजात शिशुहरू पनि विशेष जोखिममा छन्। इन्धन अभावले देशभरका एम्बुलेन्स सेवाहरू प्रभावित भएका छन्। यसले अस्पताल र स्वास्थ्य संस्थाहरूमा हुने सुत्केरीको संख्या घटाएको छ। ‘देशका बालबालिका र उनीहरूका परिवारले भोगिरहेको अवस्था दिन दिनै बिग्रँदै गइरहेको छ र आगामी जाडो महिनामा अझ बिग्रनेछ’, युनिसेफको दक्षिण एसिया क्षेत्रीय निर्देशक क्यारिन हुल्शफले भन्नुभयो– ‘बालबालिका रोग, जाडो र भोकबाट जोगिनुपर्छ।’






