काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससहित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता आह्वान गरेका छन् । सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी वार्ता बोलाइए पनि ढिला हुने भएको छ ।
तीन ठूला दलहरुले वार्ता निर्णायक बनाउन साझा धारणा बनाउने तयारी गर्दैछन् । मंसिर २ गतेको वार्तामै उनीहरुले मधेसका मागहरु सम्बोधन गर्न तीन ठूला दलहरुले एउटै धारणा बनाउने प्रतिबद्धता दिएका थिए ।
मधेस आन्दोलन र नाकाबन्दी लगायतका समस्या समाधान गर्न आन्दोलनरत मधेसी मोर्चा, प्रतिपक्षी काग्रेस र सत्तारूढ दलहरूबीच वार्ता हुन लागेको हो ।
केही दिनयता प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति खोज्ने प्रयासस्वरुप अनौपचारिक छलफललाई तिब्रता दिएका थिए । कांग्रेस सभापति सुशील कोइराला अमेरिकाबाट फर्केपछि उनले पनि मधेसी मोर्चा र सत्तारुढ दलहरुसँग छलफल गरेका थिए ।






