रसुवा– भारतले नाकाबन्दी लम्ब्याउने संकेत गरेपछि सरकारले चीनतिरको वैकल्पिक नाकाको अध्ययन सुरु गरेको छ ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार र अर्थमन्त्री विष्णु पौडेल नाका अध्ययन गरेका छन् । काचलाउन नाका अहिले पनि चलिरहेता पनि नेपाल–चीनबीचको व्यापार व्यवसाय तीव्र पार्न गल्छी–त्रिशुली–स्पाफ्रुवेशी–रसुवागढी अन्तर्राष्ट्रिय मार्ग दुई वर्षमा निर्माण हुने उपप्रधानमन्त्री गच्छदारले जानकारी दिए ।
गच्छदारले सञ्चालित सडकलाई स्तरोन्नति गर्ने गल्छी, त्रिशुली, बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी रसुवागढीसम्म दोहोरो लेनको अन्तर्राष्ट्रिय मार्ग निर्माण हुने र बेत्रावती, मैलुङ, हाकु, स्याफ्रुवेशी क्षेत्रको बढी भिर चट्टान भएको २८ किमी क्षेत्रको नयाँ सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरी द्रुतरुपमा काम आगाडि बढाइने जानकारी दिए । उपप्रधानमन्त्री गच्छदारले बताउँदै सरकारले रसुवागढी सडक विस्तार निर्माण कार्यलाई उच्च प्राथमिकतामा रोखेको समेत जानकारी दिए ।
उनले इन्धन समस्या समाधान गर्न चीनको आपूर्तिले मात्र समस्या समाधान नहुने भएकाले राजनीतिक पाटोबाट आन्तरिक समस्या समाधान गरी भारतसँग कूटनीतिक पहल थालिने पनि बताए ।
अर्थमन्त्री विष्णु पौडेलले गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माणका लागि यथेष्ठ बजेट व्यवस्थापन गर्ने बताउँदै चीनसँग कारोबार गर्ने रसुवागढी नाका छोटो भएका कारण गल्छी, बेत्रावती धुन्चे, स्याफ्रुवेशी रसुवागढी मार्गलाई पनि यथास्थानमा राख्न स्तरोन्नति गर्ने र बेत्रावतीदेखि मैलुङ, हाकु, स्याफ्रुवेशी नयाँ मार्गका रुपमा विकसित हुने भएकाले यससम्बन्धी प्रक्रिया अगाडि बताइने बताए ।






