तराई मधेसमा यस्ता अराजकता, जिउँदै आगो लगाइयो

saptari_Madheshकाठमाडौं- भारतको अघोषित नाकाबन्दीले तराई मधेसमा अराजकता निम्तिन थालेको छ । सीमावर्ति क्षेत्रका बासिन्दाहरु नै भन्सार छलेर सामान ओसारपसारमा सक्रिय भएपछि स्थिति बिकराल बन्न थालेको अनुमान गरिएको छ ।

रासायनिक मल ल्याएको विषयलाई लिएर चार नेपालीमाथि गोली प्रहारको घटना सेलाउन नपाउँदै मोरङमा एक व्यक्तिलाई आगो लगाउने प्रयास भएको छ । मोरङको भातीगछ गाविस ७ का बल्लु राजवंशीलाई पेट्रोल ल्याएको भन्दै जलाइएको छ । आगोबाट उनको दुवै गोडा र छाति जलेको छ ।

को १ प २४५० नम्बरको मोटरसाइकमा भारततिरबाट १५ लिटर पेट्रोल लिएर आइरहेको बेला भातिगछ २ रामजानकी चोकमा उनलाई जलाइएको हो ।

भातिगछ-३ का अजय सिंह, जुगेश्वर मुखिया र जितेन्द्र मुखिया सहितको समूहले उनीमाथि आगो लगाएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक प्रमोद खरेलले जानकारी दिए ।

कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकी उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

यसैबीच नवलपरासी जिल्लाको सदरमुकामस्थित सामुदायिक रेडियो परासीको कार्यालय, परासीमा अज्ञात समुहले पेट्रोल बम प्रहार गरेको छन् । बुधबार राति करिव १० बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको हुन् ।

यस्तै रेडियोको परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ ।