कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि, कोइरालाको शवयात्रामा हजारौँको सहभागिता

Sushil koirala _Pashupati (8)काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उहाँका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनुभयो ।

स्व. कोइरालाको सम्मानमा नेपाली सेना एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उहाँलाई १३ तोपको सलामी दिइएको थियो ।

यसअघि उहाँको शवलाई दशरथ रङगशालाबाट विशेष किसिमले सजाइएको ट्रक राखेर आर्यघाट ल्याइएको थियो ।

कोइरालाको शवयात्रामा हजारौँको सहभागिता

शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवम् सर्वसाधारण गरी हजारौँको सङ्ख्यामा उपस्थिति थियो । यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुँन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।

यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा काँग्रेस केन्द्रीय सदस्यद्वय शशाङ्क कोइराला र शेखर कोइराला, स्वकीय सचिव अतुल कोइराला, उहाँका भाञ्जा रमेश शर्मालगायत हुनुहुन्थ्यो ।

यसअघि कोइरालाको शवयात्रा दशरथ रङ्गशालाबाट त्रिपुरेश्वर–वीरअस्पताल–भोटाहिटी–दरबारमार्ग–कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए पनि अन्तिममा त्रिपुरेश्वर–थापाथली–सिंहदरबार–पुतलीसडक–कमलपोखरी हुँदै उल्लेखित मार्गबाटै पशुपति पुर्‍याइएको थियो ।