काठमाडौं- भारतले दुई महिनादेखि नेपालमा नाकाबन्दी गरिरहेको छ । मधेसी दलको आन्दोलनलाई साथ दिंदै सुरु भएको नाकाबन्दी खुल्ने संकेत देखिएको छैन ।
भारतको नाकाबन्दीलगत्तै चीनबाट तेल आयात गर्नेलगायतका कतिपय कामहरु पनि रोकिएका छन् । भारतसँगको कुटनीतिक सम्बन्ध चिसिएको चिसिएकै छ ।
तर, केही भेटहरुमा भारतले गलेको संकेत गरिरहेको छ ।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राजदूतको भेट र सिंगापुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले भारत गलेको संकेत गरेको छ ।
शुक्रबार आधा घन्टाका लागि भनेर तय गरिएको भेटघाट डेढ घन्टासम्म तन्किएको थियो । सुत्रहरुका अनुसार भारतीय राजदूतले सीमामा देखिएको समस्या आफ्ना लागि समेत बोझ भएको खुलेरै बताए छन् । उनले महन्थ ठाकुर, उपेन्द्र यादवहरूलाई सहमतिमा ल्याइदिन प्रधानमन्त्रीलाई भनेका थिए ।
विश्वभरबाट आलोचना खेपेपछि भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालसँगको सम्बन्ध आत्मीय होस् भन्ने आफूले चाहेको बताएका छन् । सिंगापुर भ्रमणमा त्यहाँ रहेका भारतीयलाई सम्बोधन गर्दै उनले आफूले छिमेकी देशसँगको तित्ततापूर्ण वातावरण अन्त्य गर्ने पनि बताएका छन् ।






