बेलायतमा हास्यकलाकार शैलेन्द्र सिम्खडालाई भव्य सम्मान, गरे राजनीतिमाथि चोटिलो प्रहार

लन्डन । बेलायत भ्रमणमा रहेका चर्चित नेपाली हास्यकलाकार, कवि तथा साहित्यकार शैलेन्द्र सिम्खडालाई नेपाली समुदायको तर्फबाट भव्य सम्मान गरिएको छ।

बिहीबार साँझ लन्डनस्थित द ब्लु रुम रेस्टुरेन्टमा आयोजित विशेष समारोहमा नेपाली हास्यव्यङ्ग्य साहित्य तथा कला क्षेत्रमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो।

कार्यक्रममा बीबीसी नेपाली सेवाका पूर्वसम्पादक तथा वरिष्ठ पत्रकार सुमन खरेल र शिक्षाविद् डा. भरत सिम्खडाले खादा ओढाएर सिम्खडालाई सम्मान गरेका थिए।

सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खरेलले विगत साढे चार दशकदेखि निरन्तर स्ट्यान्डअप कमेडीमार्फत नेपाली दर्शकलाई हँसाउँदै आएका सिम्खडाले नेपालको हास्यव्यङ्ग्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले २०३७ सालदेखि गाईजात्रामा निरन्तर सहभागी हुँदै आएका सिम्खडाले नेपाली समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रहार गर्नुका साथै सामाजिक सुधारका लागि समेत आवाज उठाउँदै आएको उल्लेख गरे।

त्यस्तै, शिक्षाविद् डा. भरत सिम्खडाले शैलेन्द्र सिम्खडा आफ्नो नाताले काका पर्ने बताउँदै आफूहरू काठमाडौँमा सँगै कलेज पढेको स्मरण गरे। सानै उमेरदेखि हास्यचेत भएका सिम्खडाले निरन्तर हास्यव्यङ्ग्य क्षेत्रमा सक्रिय रहेर नयाँ पुस्तालाई समेत प्रेरित गरेको उनले बताए। कार्यक्रममा डा. भरत सिम्खडाले शैलेन्द्र सिम्खडाको जीवनीसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार सिम्खडाले आफ्ना चर्चित हास्यव्यङ्ग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। विशेष एकल प्रस्तुति दिएका उनले ‘संकल्प’, ‘आगो’ र ‘देवासुर संग्राम’ लगायत आफ्ना लोकप्रिय प्रस्तुतिमार्फत दर्शकलाई हँसाएका थिए।

उनका प्रस्तुतिमा पञ्चायतकालदेखि वर्तमान राजनीतिक अवस्थासम्मका विषय समेटिएका थिए। विशेषगरी बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको वर्तमान सरकारका कमजोरीमाथि उनले चोटिलो व्यङ्ग्य गरेका थिए।

उनको एउटा व्यङ्ग्यात्मक कविताले कार्यक्रममा विशेष चर्चा पाएको थियो।

“संसारमा नेपाल एउटा अचम्मको ठाउँ छ,
पानी बाँड्न गएको केटो मन्त्री भएर आउँछ।

हिमाल टम्म छ, पहाड लटरम्म छ, तराईसम्म छ,
हेर्दा नेपाल राम्रो छ, भित्र अचम्म छ।”

सिम्खडाले प्रवासमा रहेर पनि नेपाललाई अप्ठ्यारो पर्दा मन खोलेर सहयोग गर्ने सम्पूर्ण प्रवासी नेपालीप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गरे।

कार्यक्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाउनुभएकी दिवंगत शारदा सिम्खडा काफ्लेको सम्मान तथा सम्झनामा हनुमान चालिसा पाठसमेत गरिएको थियो। विक्रम संवत् २०८३ साल भदौ १० गते गएको उक्त बाढीमा परी ज्यान गुमाएकी काफ्लेको स्मृतिमा हरि भट्ट, समुद्र भट्ट र रमा भट्टले हनुमान चालिसा पाठ गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरू ट्विङ्कल सिम्खडा अद्भिका लामिछाने र एलिना सापकोटाले नृत्य प्रस्तुत गरेका थिए।

त्यसैगरी, नवराज पाण्डेले गजल वाचन गरेका थिए भने हरि भट्ट, तारा पौड्याल, अजिता सिम्खडा र केशव पुडासैनीले कविता वाचन गरेका थिए। रिता धमला सिम्खडाको अनुपस्थितिमा बासु लामिछानेले उहाँको कविता वाचन गरेका थिए भने विष्णु सिम्खडाको अनुपस्थितिमा कृष्ण भट्टले उहाँको कविता वाचन गरेका थिए।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी सुमन खरेलले मन्तव्य राख्दै सिम्खडाको योगदानको प्रशंसा गरेका थिए। विनोद सिम्खडाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिसमेत समावेश गरिएको थियो।

हास्यकलाकारका रूपमा लोकप्रिय सिम्खडा स्थापित कवि, साहित्यकार तथा रङ्गकर्मीसमेत हुन्। उनको व्यङ्ग्य कवितासङ्ग्रह ‘कालो अक्षता’ प्रकाशित छ। त्यसैगरी ‘ब्रह्मास्त्र’, ‘सुकुम्वासी’, ‘एक्सरे’, ‘प्रजातन्त्रको पास्नी’, ‘ग्राण्ड डिजाइन’, ‘नाइटभिजन’ र ‘सिंहदरबारको गेट’ जस्ता सिर्जनामार्फत उनले नेपाली व्यङ्ग्य साहित्य र श्रव्य प्रस्तुतिमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

राष्ट्रिय कविता महोत्सवमा विजयी भइसकेका सिम्खडाले भैरव प्रतिभा पुरस्कारलगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन्। उनलाई २०८१ सालमा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’का लागि समेत छनोट गरिएको थियो।

नेपाली हास्यव्यङ्ग्य साहित्य र कलामा साढे चार दशकभन्दा लामो योगदान दिएका सिम्खडाको सम्मानमा आयोजित उक्त कार्यक्रमले बेलायतस्थित नेपाली समुदायमा उनको सिर्जनात्मक योगदानको कदर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *