पेट्रो म्याक्सले शुक्रबार विमानबाट हवाई इन्धन ल्याउने

nepal oilकाठमाडौँ- आगामी शुक्रबार बिहान दश बजे पहिलो उडानमार्फत पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन ल्याउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका मिलाउन समय लागेका कारण हवाई इन्धन आयातमा समय लागेको हो । यसअघि पेट्रो म्याक्सले आज साँझ हवाई इन्धन आयात गर्ने जनाएको थियो । सो कम्पनीले इथियोपियाको जहाज भाडामा लिएर लखनऊबाट हवाई इन्धन आयात गर्ने जनाएको छ ।

नेपाल आयल निगम त्रिभुवन विमानस्थलका प्रमुख प्रदीप यादवका अनुसार उडान तालिका र केही कागजात मिलाउन समय लागेका कारण आज ल्याउने भनिएको इन्धन ल्याउन नसकिएको हो । उहाँले पेट्रो म्याक्सले शुक्रबार बिहान दश बजे पहिलो खेप इन्धन ल्याउने बताउनुभयो ।

नेपाल आयल निगमले हवाई इन्धन आयात गर्न पेट्रो म्याक्सलाई अनुमति दिएको थियो । नेपाल वायु सेवा निगमले भन्दा केही सस्तो मूल्यमा इन्धन आयात गर्ने प्रतिबद्धता पेट्रो म्याक्सले जनाएको छ । सो कम्पनीले चार लाख लिटर हवाई इन्धन आयात गर्नेछ । उक्त परिमाणको इन्धन आन्तरिक वायुसेवा सञ्चालनका लागि पर्याप्त हो ।