पीडादायी मोडमा नेपालको अर्थतन्त्र

Bishnuकाठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम समेटेर जारी गरेको श्वेतपत्रमा नेपालको अर्थतन्त्र पीडादायी अवस्थामा पुगेको उल्लेख छ ।

अर्थमन्त्रालयमा पत्रकारसम्मेलनको आयोजना गरेर अर्थमन्त्रीले मंगलबार मुलुकको समग्र आर्थिक अवस्थाको विश्लेषणसहितको श्वोतपत्र प्रस्तुत गरे । गत वैशाख १२ गते गएको गोरखा भूकम्प, आर्थिक परिसूचकमा त्यसले पारेको प्रभाव, तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले पारेको नाकारात्मक प्रभावका विषय श्वेतपत्रमा समावेश गरिएको छ ।

साथै श्वेतपत्रमा अर्थतन्त्रको अवस्था, वर्तमान परिस्थितिको प्रभाव, सामाजिक आर्थिक अवस्थाको क्षेत्रगत समस्या, तत्कालको कार्यदिशा, समष्टिगत आर्थिक पक्ष, खाद्य सुरक्षा, भूकम्पपछिको पुन: निर्माणसहितका विषय समेटेर श्वेतपत्रमा समावेश गरिएको छ ।

अर्थमन्त्री पौडलद्वारा जारी श्वोतपत्रमा भूकम्पका कारण देशको आर्थिक वृद्धिदर तीन प्रतिशतमा सीमित भएको र पछिल्लो तराई मधेसको आन्दोलन तथा अघोषित नाकाबन्दीका कारण अर्थतन्त्रमा अझै अर्थतन्त्रमा सङ्कुचन आई चालु आर्थिक वर्षमा दुई प्रतिशतमा आर्थिक वृद्धिदर सीमित हुने उल्लेख गरिएको छ ।

सरकारले चालु आवमा कुल ६ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि आपूर्ति प्रणालीमा भएको अवरोधबाट कृषि र गैरकृषि दुबै क्षेत्रको उत्पादन प्रभावित भई अर्थतन्त्र सङ्कटमा परेको श्वोतपत्रमा जनाईएको छ ।

श्वेतपत्रमा बन्द, हडताल, आपूर्ति प्रणालीमा अवरोध कायम रहँदै गएमा आर्थिक वृद्धिदर थप सङ्कुचित हुने, चालु आवको पछिल्लो चार महिनामा पुँजी निर्माणले गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर आर्थिक वृद्धिदरमा पर्ने भनिएको छ ।

अर्थमन्त्री पौडेलले श्वोतपत्र प्रस्तुत गर्दै कृषि तथा उद्योगबाट उत्पादित वस्तु, ढुवानी समस्याका कारण बजारसम्म पुर्‍याउन कठिन भइरहेको, होटल रेस्टुरेन्ट, पर्यटन, निर्माण, बैंकिङ, यातायातलगायत ग्रार्हस्थ्य उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने सेवा क्षेत्र इन्धन र अन्य सामग्रीको अभावले नराम्ररी प्रभावित भएको उल्लेख गर्नुभयो ।