नाकाबन्दीले लोडसेडिङ घटायाे

All about light: from bulbs to artकाठमाडौं, १ मंसिर । नाकाबन्दीको असरले उद्योग धन्दाहरु बन्द हुने क्रमसँगै देशभर उद्योग क्षेत्रमा हुने बिजुलीको खपत झण्डै ९५ प्रतिशतले घटेको छ । उद्योगमा विजुली खपत हुन छाडेकाले लोडसेडिङ घटेको प्राधिकरणका कर्मचारीले बताएका छन् ।
तराईमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण उद्योग क्षेत्रमा बिजुलीको खपत ५ करिब प्रतिशतमा सीमित भएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेका अनुसार दैनिक १२ घण्टाको लोडसेडिङ तालिका भए पनि अहिले एक घण्टामात्रै लोसेडिङ हुन थालेको छ । तर, उद्योगहरु सुचारु हुने थालेपछि फेरि लोडसेडिङ बढ्छ ।

यसअघि उद्योग क्षेत्रका लागि सामान्य अवस्थामा दैनिक ३ सय ५० मेगावाट भन्दा बढी विद्युतको माग थियो । तर, अहिले औद्योगिक प्रतिष्ठानले दैनिक १५ देखि २० मेगावाट मात्र बिजुली खपत गरिरहेको प्रवन्ध निर्देशक काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

वीरगञ्ज, बिराटनगर, भैरहवा, नेपालगञ्ज हेटौंडा लगायतका ठूला औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द भएपछि त्यहाँ खर्च हुने बिजुली अहिले सर्वसाधारणको घरायसी प्रयोजनका लागि उपलब्ध गराउन सकिएको काफ्लेले बताए ।

‘दैनिक १२ घण्टाको लोडसेडिङ तालिका भए पनि अहिले औसत १ घण्टा मात्र लोडसेडिङ हुँदैछ,’ प्रवन्ध निर्देशक काफ्लेले प्रष्ट्याए-‘उद्योगधन्दामा खपत हुने बिजुली बचत भएकाले सर्वसाधरणले लोडसेडिङको ठूलो मार खेप्नु परेको छैन ।’

तराईका उद्योगहरु सुरक्षाका कारण झण्डै तीन महिनादेखि बन्द छन् । अन्य क्षेत्रका उद्योग पनि भारतीय नाकाबन्दीका कारण कच्चापदार्थ र इन्धन नभएर लगभग ठप्प छन् ।

उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र धरासायी भएको समयमा अघोषित रुपमा लोडसेडिङ घट्दा सर्वसाधारणलाई भने इन्धन अभावका समयमा राहत भएको छ ।

अहिले ग्यास र मट्टीतेल नपाएपछि धेरै परिवार विद्युतीय उपकरणमा खाना बनाएर जीविका चलाउँदैछन् ।

तर, तराईमा उद्योगधन्दा सुरु हुनासाथ लोडसेडिङ बढ्ने प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको वहाब र उद्योगधन्दामा बिजुलीको खपतको अवस्था हेरेर एकसाता भित्रै नयाँ लोडसेडिङ तालिका सार्वजनिक गर्ने प्राधिकरणको तयारी छ ।

प्रवन्ध निर्देशक काफ्लेले अहिलेको अवस्थामा लोडसेडिङ घट्न नसक्ने पनि बताए । इन्धन संकटका समयमा लोडसेडिङ कम गरेर राहत दिन भन्दै प्राधिकरणले भारतबाट ९० मेगावाट बिलुजी पनि आयात गर्ने तयारी गरिरहेको छ ।

नेपालमा दैनिक अधिकतम् १३ सय ८२ मेगावाट बिजुलीको माग छ । तर, झण्डै ६ सय मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ भने २ सय मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ ।