निगमकै साँठगाँठमा कालोबजारी

१ मंसिर, काठमाडौं । भारतले नाकाबन्दी गरेको मौका छोप्दै नेपाल आयल निगमकै उच्च अधिकारी र व्यापारीले साँठगाँठमा पेट्रोलियम कालोबजारी गरिरहेको खुलेको छ । पाँच दिनयता राजधानी भित्रिएको पेट्रोल र डिजेलबाट मात्र कालोबजारियाले झन्डै आधा अर्ब रुपैयाँ कमाएको र यो रकम निगमका उच्च अधिकारी, डिपोप्रमुखदेखि राजनीतिक नेतृत्व तहसम्म भागबन्डा गरिएको स्रोतले दाबी गरेको छ ।
‘निगमले तेल वितरण पारदर्शी नगर्दा सरकारकै संरक्षणमा तेलको कालोबजारी भइरहेको छ,’ एक उद्योगीले भनेको नागरिक दैनिकमा खबर छ ।
निगमले इन्धनको चरम संकट देखाउँदै गत बिहीबार (कात्तिक २६ देखि ३० गते) देखि पछिल्ला पाँच दिनमा भारतबाट पेट्रोल र डिजेल बोकेका करिब ३ सय ट्यांकर काठमाडौं भित्रायाएको थियो । त्यसबाट ६० लाख लिटर तेल आएको थियो । यति परिमाणको तेल सामान्य अवस्थामा नियमसंगत ढंगले बाँडेको भए कुल मागको ६० प्रतिशत पूरा हुन्थ्यो ।
निगमले आफ्नै संलग्नतामा संस्थागत रूपमै कालोबजारी गरी प्रतिट्यांकर औसत १५ लाख रुपैयाँसम्म कुम्ल्याइरहेको तथ्य खुलेको छ । सम्बद्ध व्यवसायीका अनुसार सामान्य दिनमा २० हजार लिटरको एक ट्यांकर पेट्रोलको मूल्य २० लाख ८० हजार रुपैयाँ पर्छ भने त्यत्ति नै परिमाणको डिजेलको मूल्य १६ लाख २० हजार ।
त्यसरी आएको तेल निगमका उच्च अधिकारीहरूले आफ्ना आसेपासे, नातागोताका पेट्रोलपम्प र मोटो रकम बुझाउने व्यवसायीलाई परलभन्दा धेरै महँगोमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार अहिले प्रतिट्यांकर पेट्रोल ३५ लाख रुपैयाँ र डिजेल २६ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उपभोक्ता बाध्य भएर कालोबजारमा पेट्रोल प्रतिलिटर औसतमा ४ सय ५० र डिजेल ४ सय रुपैयाँसम्ममा पम्पबाटै किनिरहेका छन् ।
स्रोतका अनुसार सम्बन्धित कालोबजारीसँग कुरा मिलेपछि पेट्रोल पम्पमा बिहानै वा रातिराति मात्र महँगो मूल्यमा तेल बेच्ने गरिएको उपभोक्ताको गुनासो आए पनि आयल निगम भने कानमा तेल हालेर बसेको छ ।
एक ट्यांकर डिजेल २६ लाख तिरेर आफ्नो उद्योगमा ल्याउनुपरेको बाध्यता सुनाउँदै एक व्यापारीले भने, ‘सरकार र निगम नै सहज आपूर्ति नहोस् र आएको तेल महँगो मूल्यमा बेचेर मोटो रकम कुम्ल्याउन पाइयोस् भन्नेमा छन् ।’
व्यवसायीले भनेको कुरालाई केही दिनअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले आयोजना गरेको पत्रकार सम्मेलनले पनि थप पुष्टि गर्छ । भारतले अघोषित नाकाबन्दी गरे पनि विभिन्न नाकाबाट छिटफुट रूपमा तेल आइरहेको छ । खड्काले भने एक थोपा पनि तेल नआएको भन्दै कालोबजारीलाई प्रश्रय दिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।