थुइक्क ! लाज लाग्दैन ? कुरीकुरी ! कतैबाट मेरो मस्तिष्कमा ठूलो स्वरले करायो । मलाई हेर्दै कसैले मलाई जिस्क्याइ रह्यो । अनि मेरो पोशाक द्रौपदीको सारी हरण गरेझैँ कसैले हरण गरेको अनुभूति भो । अनि आफूलाई सबै अङ्ग नियाले मेरो शरीर दुई पैताला, हत्केला र शिर बाहेक सबै अङ्ग छोपिएका रहेछन् । अझ मेरो शरीरमा १० हजारको सितारा जडित सारी थियो । हरेक श्रृङ्गारले सिगारिएकी थिएँ । म त आफू अरु नारीभन्दा अब्बल दर्जाको रुपमा उपस्थित थिएँ तर किन र कसले जिस्क्याइ रह्यो ? दायाँबायाँ हेरेँ त्यहाँ कोही पनि देखिनँ । एकछिन सोचेपछि थाहा भो मलाई मेरै स्वाभिमानले जिस्क्याइ रह्छ । मेरै स्वतन्त्रता र राष्ट्रियताले गिज्याइरहेछ । अनि म लाजले पानी भएँ । मेरो लाज शरीरको नग्नताको होइन मेरो लाज त स्वाभिमानको नग्नताको हो । दसौँ हजार पर्ने सारीले मेरो अरुले देख्ने लाज त छोप्यो तर मेरो स्वाभिमान छोप्न सकेन । त्यसैले म निर्लज्ज भएर बाँच्नु परेको छ ।
हिजोसम्म अधिकारका कुरा गर्ने नेपाली महिला अब स्वाभिमान र राष्ट्रियता बचाउन कर्तव्यपरायण हुनु पर्ने बेला आएको छ । आफ्नै पैतालाका आधार र आफ्नै पाखुरीको बल खोज्ने बेला आएको छ । खोजौँ अब आफ्नै देशका घरेलु, ढाका सारी र चोली । जसरी इन्धनको सट्टामा दाउरा खोजिएको छ । भोलि पोशाकमाथि नाकाबन्दी गरेपनि नाङगै बस्न नपरोस् । हुन त यो भनिरहदा म पुरातनवादी हुँला । समय यति परिवर्तन भइसक्यो । विश्वव्यापीकरणकले कुनै पनि देशमा उत्पादन भएका वस्तु अर्को देशको कुनाकुना पुगिसकेका छन् । एक देशमा उत्पादन भएका सामान अर्को देशमा प्रयोग गर्न सकिन्छ । पाइन्ट सर्ट लगाउने जमाना आयो । तर अरुको देशमा उत्पादन भएका लुगाले मेरो स्वाभिमान छोप्न सकेनछ र त मलाई मेरै स्वाभिमानले गिज्याइरहेछ । त्यसैले सोध्न मन लाग्यो खै मेरो हिजोको खद्दर सारी ?
जति स्वाभिमान र राष्ट्रियताको कुरा आउँछ त्यति नै पराधिनतालाई स्वीकारी रहेका हुन्छौँ । आज हामी त्यस्तै छौँ । हिजो गाउँका कुनाकाप्चामा बस्ने आमा, हजुर आमाले स्वदेशमा नै उत्पादन भएका घरेलु सारी लगाउनु हुन्थ्यो । आज त्यसलाई विस्थापित गर्दै इन्डियन र जापानी सारीले स्थान लिएको छ । क्याम्पसमा युनिफम पनि आफ्नो देश भित्र उत्पादन भएका घरेलु सारी थिए । त्यो खद्खरका घरेलु सारी आफ्नो शरीर माथि जति जति बेर्दै जान्थेँ त्यति नै स्वाभिमानले शिर उच्च भएको महसुस हुन्थ्यो । तर आज हजारौँ पर्ने विदेशी सारी लगाए पनि मेरो स्वाभिमान नाङ्गिएको महसुस हुन्छ ।
कक्षाभित्र स्वाभिमान र स्वतन्त्रताको लेक्चर दिइरहदा, स्वाभिमान गर्ने कुन कुरा छ म्याडम ? भनेर कुनै विद्यार्थीले प्रश्न गर्दा म अवाक हुनु पर्ने अवस्था छ । विदेशी सारीमा स्वाभिमानको लेक्चर दिँदा मेरो आत्माभित्रको स्वाभिमानले म आफूलाई नै गिजयाइरहेको अनुभूति हुन्छ । सरकारले शिक्षकलाई दिएको पोशाकमा नेपाली उत्पादनको सारी नै छनोट गरिदिएको भए प्रार्थना गर्दा राष्ट्रगान गाउनुको गर्व नै फरक हुने थियो । तर विदेशी सारीमा राष्ट्रगान गाउँदा छातीमा हात राखे पनि खोक्रो स्वाभिमान र राष्ट्रियता भित्र रमाइरहेकी हुन्छु ।
हरेक कलेजले युनिफम नेपाली घरेलु साडी राखेमा नेपाली उत्पादनलाई मात्र होइन आजका युवतीहरुमा स्वाभिमानको भावना जगाउन सकिन्थ्यो होला । जबसम्म आफ्नो देशमा उत्पादन भएका वस्तुमा गौरव गर्न सकिदैनौँ तबसम्म स्वाभिमान र स्वतन्त्रताको अर्थ हुदोरहेनछ भन्ने कुरा अहिलेको नाकाबन्दीले छर्पष्ट पारेको छ । एउटा स्वतन्त्र देशमा बसेर पनि अरुको दाना, नाना र खानामा बाँचेका रहेछौँ । त्यसैगरी यहाँ हजारौँ टोल विकास समितिहरू रहेका छन् । यिनीहरू नेपाली घरेलु सारीलाई युनिफमको रुपमा प्रयोग गर्ने र गराउने काम सरकारी निकायले गर्न सकेमा देशको उत्पादनमा बृद्धि भई आर्थिक समृद्धिमा टेवा पुग्नुको साथै धेरै युवाहरुले विदेशी भूमिमा स्वाभिमानी शिर निहु¥याएर पसिना बेच्नु पर्ने थिएन ।
आज हामी नेपाली महिलाले राष्ट्रपति र सभामुख जस्तो उच्च पदमा महिला विराजमान हुँदा जुन गौरव कमाएका छौँ । राष्ट्रपति र सभामुख महोदय त्यस कुर्चीमा अन्य महासय पनि विराजमान हुनु भो तर हजुरहरू अरुभन्दा फरक रुपमा विराजमान हुनुपर्छ । अब हजुरहरू नेपाली ढाका वा घरेलु सारीमा त्यो कुर्चीमा विराजमान हुनु भो र कुनै सभासमारोहमा ढाका वा घरेलु सारीमा उपस्थित हुनु भो भने मेरो स्वाभिमान नाङगिने छैन र लाजले मुख छोप्नु पर्ने र्छैन । जय स्वाभिमान !
विजया पन्त







