सर्लाही, २९ कात्तिक । मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक नेतामाथि खुकुरी प्रहारको प्रयास भएको छ ।
आइतबार सर्लाहीको लक्ष्मीपुरमा सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहमाथि खुकुरी प्रहारको प्रयास भएको हो । सर्लाहीको हरिपुरमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कार्यक्रम बिथोल्ने तयारी गर्दैगर्दा साहमाथि चार जनाको समुहमा आएका युवकले खुकुरी प्रहारको प्रयास गरेको प्रहरीले जनाएको छ ।
लक्ष्मीपुर चोकमा कार्यकर्तासँग छलफल गरिरहेका बेला मोटर साइकल चढेर आएका युवकले गाली गलौज गर्दै झोलाबाट खुकुरी निकालेर प्रहार गर्न खोजेको पीडित शाहले बताए । इलाका प्रहरी कार्यालय हरिपुरले खुकुरी प्रहार गर्न खोज्ने युवकलाई पक्राउ गरेको छ ।







