लण्डन । तीनदिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहीबार बेलायतको राजधानी लण्डन आएका छन् ।
प्रधानमन्त्री भएपछि पहिलोपटक र भारतबाट राष्ट्रप्रमुखका हैसियतले करिब एक दशकपछि मोदी बेलायतको भ्रमणमा आएका हुन् । बेलायत पुगेका मोदीविरुद्ध नेपालीहरुले नाकाबन्दी हटाउन माग राख्दै विरोध प्रदर्शन पनि गरेका छन् ।
यसैबीच नेपालमाथि भारतले गरेको नाकाबन्दी खुलाउन मोदीलाई बेलायतका सांसदले प्रश्न गर्ने भएका छन् । मोदीले शनिबार बेलायतको संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसअघि बेलायती संसदमा भएको छलफलमा बेलायती बिदेश मन्त्रालयले भारतलाई नाका खोल्न दबाब दिइएको बताएका छन् । बेलायती सांसद म्याथ्यु ओर्फडले भारतीय नाकाबन्दीका कारण नेपालमा मानवीय संकट उत्पन्न भएको भन्दै नाका खुलाउन बेलायत सरकारले के पहल गरिरहेको छ भनी सरकारसँग जवाफ माग गरेका थिए ।
जवाफमा बेलायती बिदेश राज्यमन्त्री ह्युगो स्वाइरले भने- नेपालमा लगाइएको नाकाबन्दीका कारण हाम्रो ध्यानाकर्षण भएको छ, हामी सम्बद्ध पक्षलाई सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं ।’
नेपालमाथिको नाकाबन्दी हटाउन आवाज उठाउने बेलायती सांसद म्याथ्यु ओर्फड सत्ताधारी कन्जरभेटिभ पार्टीका हुन् । उनले मोदीको सम्बोधनका क्रममा पनि नेपालमाथि नाकाबन्दी किन लगाएको भनेर प्रश्न गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसैगरी अर्की सांसद फियोना ब्रुसले पनि नेपालमाथि भइरहेको नाकाबन्दी किन र कहिले हटाउने भनेर मोदीलाई प्रश्न गर्दैछिन् ।
मोदीलाई बेलायतका सांसदको प्रश्नः नेपालमाथि नाकाबन्दी किन ?






