आईएसले सिरियामा युद्धक विमान खसाल्यो

सिरियाको उत्तरी भागमा इस्लामिक स्टेट समूहले बुधबार अमेरिकी नेतृत्वमा रहेको गठबन्धनको एक युद्धक विमान खसालेको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको छ । जिहादीले उक्त विमानका जोर्डनी चालक पक्राउ गरिएको दाबी गरेका छन् ।
अब्जरभेटरीले आईएसका सदस्यले एक अरब चालकलाई निजको विमान राका नगरनजिकै क्षेप्यास्त्रबाट खसाएपछि नियन्त्रणमा लिएको जानकारी दिएको छ । राकामा आईएसको शाखाले जिहादीको वेबसाइटमा आफ्ना लडाकूहरूले एक चालकलाई नियन्त्रणमा लिएको देखाएको छ । उक्त तस्वीरमा यी चालक जोर्डनी नागरिक भएको उल्लेख गरिएको छ ।
यी चालकलाई चार व्यक्तिले पानीबाट बाहिर निकालिरहेको र निजको वरपर दर्जनौ सशस्त्र व्यक्ति देखाइएको अनेकौँ तस्वीरहरू सार्वजनिक गरिएको छ । अर्को तस्वीरमा उक्त विमान चालकका सैनिक परिचयपत्र देखाइएको छ । त्यहाँ उनको नाम माज अल–कासासवेह र निजको जन्म मिति मे २९, सन् १९८८ भएको देखाइएको छ । यी चालक प्रथम लेफ्टिनेन्ट रहेको देखाइएको छ ।
जिहादीहरूले उक्त विमान तापप्रति आकर्षित हुने क्षेप्यास्त्रबाट खसाइएको दाबी गरेका छन् । बेलायतमा केन्द्रीय कार्यालय रहेको अब्जरभेटरीले सिरियामा सूचनाका लागि व्यापक सञ्जालमा भर पर्ने गर्छ । यस संस्थाले आईएसले राष्ट्रपति बसार अल–असादको शासनसँग युद्ध गरिरहेका सिरियाली विद्रोहीबाट उक्त क्षेप्यास्त्र प्राप्त गरेको जानकारी दिएको छ ।
अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले आईएसले विद्रोहीबाट ठूलो सङ्ख्याको विमानभेदक हतियार प्राप्त गरेको जानकारी दिएका छन् । यस विषयमा जोर्डनका अधिकारीहरूले कुनै टिप्पणी गरेका छैनन् । जिहादीले सिरिया तथा इराकको ठूलो भाग आफ्नो नियन्त्रणमा लिएका छन् र अमेरिकी नेतृत्वमा आईएसमाथिको आक्रमणमा जोर्डनले पनि भाग लिएको छ ।
सिरियामा अमेरिकासहित साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, जोर्डन तथा बहराइनले पनि हवाई आक्रमणमा भाग लिएका छन् । अस्ट्रेलिया, बेलजियम, क्यानडा, डेनमार्क, फ्रान्स तथा नेदरल्यान्डले इराकमाथिको आक्रमणमा भाग लिएका छन् ।
सुन्नी कट्टरपन्थी आईएसले आफ्नो नियन्त्रणमा लिएको क्षेत्रमा, पक्राउ परेका सैनिक आमहत्या गर्ने तथा पश्चिमी पत्रकार तथा सहयोग कार्यकर्ताको सार्वजनिकरूपमा टाउको काट्नेजस्ता दमन कार्य गरिरहेको छ । आईएसले स्वघोषित खलिफातको मुख्यालयको रूपमा राकामा गठबन्धनका युद्धकविमानले नियमितरूपमा आक्रमण गरिरहेका छन् ।
अब्जरभेटरीले गठबन्धनले सिरियामा सेप्टेम्बर २३ देखि गरेको आक्रमणमा एक हजार भन्दाबढी जिहादीको मृत्युभएको जानकारी दिएको छ । सिरियामा सन् २०११ मा राष्ट्रपति असादविरुद्ध शान्तिपूर्ण विद्रोह आरम्भ भएको थियो र पछि यो बहुपक्षीय गृहयुद्धमा परिणत भयो । पछि यहाँ आईएसको उदय भयो र उनीहरूले आफूलाई इराकसम्म बिस्तार गरे । असादको सरकारले राकामा पटकपटक हवाई आक्रमण गरिरहेको छ र त्यसबाट त्यहाँ ठूलो सङ्ख्यामा नागरिकको मृत्युभएको छ ।