वीरगञ्जमा प्रहरीमाथि मधेसी मोर्चाको आक्रमण

पर्सा, १७ कात्तिक । बीरगञ्ज उपमहानगरपालिका-८ माईस्थानमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीच मंगलबार झडप हुँदा प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् ।
घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ । साथै प्रर्दशनकारीले प्रहार गरेको पेट्रोल बम लाग्दा घाइते भएका बीरगंज सुख्खा बन्दगाहामा कार्यरत नायव सुब्बा भरत नेपाललाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीले अश्रुग्याँस र हवाई फायर गरी भीड तितिरबितर पारेको छ ।
यसैगरी बीरगंज उपमहानगरपालिका वडा नम्बर ८ माईस्थान, वडा नम्बर १८ ब्रह्मचोक, वडा नम्बर १९ नगुवा चोकमा कफर्यु लागेको अवस्थामा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा र गुलेलीसमेत प्रहार गरेकोले प्रहरीले अश्रुग्याँस, रबर बुलेट र हवाई फायर गरी भीडलाई तितरबितर बनाएको छ । हाल अवस्था सामान्य रहेको छ ।