भूपू गोर्खाहरुले दिए आमरण अनसनको चेतावनी

12179353_10153695192631197_1768562554_n[1]लन्डन । आफ्नो समान हक अधिकारका लागि आन्दोलनरत भूपू गोर्खाहरुले माग पुरा नगरिए पुनः आमरण अनसन बस्ने चेतावनी दिएका छन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र पठाउंदै उनीहरुले आगामी २४ अप्रिल, २०१६ सम्म आफ्ना माग पुरा गर्ने सम्वन्धमा बेलायत सरकार गम्भीर नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको नेतृत्वमा गत मंगलबार दिउसो संसद भवन अगाडि प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्री क्यामरुनसहित ६ सय ५९ सांसदलाई बेग्ला बेग्लै ज्ञापन बुझाए ।

साउथहल तथा इलिंग क्षेत्रका सांसद एवं सर्वदलीय संसदीय समितिका तर्फबाट गोर्खा मामिला हेर्ने अध्यक्ष वीरेन्द्र शर्मामार्फत प्रधानमन्त्री क्यामरुन सहित ६ सय ५९ सांसदलाई बेग्ला बेग्लै ज्ञापन बुझाइएको हो ।

ज्ञापन लिएपछि संक्षिप्त संवोधन गर्दै सांसद शर्माले गोर्खा आन्दोलन समाप्त नभएसम्म साथ दिने प्रतिवद्धता व्यक्त गरेको सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जनाए ।