‘दशैँ हैन दशा भो’ उद्योगी व्यवसायीलाई

लगातार दुई महिना बढी समयदेखि बन्द हड्ताल र एक महिनादेखिको भारतको नाकाबन्दीका कारण व्यवासाय धरासायी बनेपछि उद्योगी व्यवसायीलाई दँशै निराशाजनक बनेको छ । नेपालको उद्योग व्यवसायमै इतिहासमै अहिलेसम्म सबैभन्दा धेरै असर परेपछि वर्षदिनको महान पर्व विजया दशमी पनि दशा जस्तै भएको ठूला उद्योगीले बताएका छन् ।
तराई लगातारको बन्दले उद्योगधन्दा पूर्णतया ठप्प भएको, पहिला उत्पादन गरेको सामान पनि ढुवानी गर्न नसकिएको र नाकाबन्दीका कारण भारतबाट सामान ल्याउन नसकिने भएपछि उद्योग व्यवासय धरासायी भएको उनीहरुले बताएका छन् । यस्तो अवस्थामा कसरी मनाउँदै छन उनीहरुले दँशै :

Sekhar-golchaकेही उत्साह छैन, केही प्लान छैन
शेखर गोल्छा, उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ
यो पालीको दँशै मनाउनमा कुनै उत्साह छैन । किनभने अहिलेको स्थीतिले नेपालमा जुन समस्या आएको छ । यो बेलामा के दशैँ बनाउनु भनेर मैले कुनै प्लान बनाएको छैन ।
यो शायद पहिलो दशैँ होला मैले यसरी कुनै विशेष योजना नबनाएको । उद्योग व्यवसाय त सारा चौपट छ । मलाई लाग्छ अव यो नाकाबन्दी खुलेर सहज भएपनि यो रीकवर भएर पुरानै अवस्थामा आउन सक्दैन होला ।
उद्योग व्यवसाय मात्रै होईन यत्रो ठूलो समस्या नेपालमा अहिलेसम्म आएको थिएन । जनतालाई हिँडडुल गर्न समस्या छ । पकाउने खाने सामान महंगियो । ग्याँस छैन । यस्तोमा के खुसीयालीले रमाईलो गर्नु ?
घुम्न जाने हो भने पेट्रोल छैन, डिजल छैन । कहाँ कसरी जानु । अहिले त सामान्यतया परीवारसंग बसेर टिका लगाउने हुन्छ । टिभि हेर्ने, पुस्तकहरु पढ्ने यही नै होला ।

Rajesh-Kaji-shresthaदशैँ हैन दशा भैरहेको छ
राजेशकाजी श्रेष्ठ, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
यसपालीको दँशै सबै व्यवसायीको दशा भैरहेको छ । पूजा सुजा गरेर बरुँ चाँडै खुलोस भन्ने कामना गर्ने हो । यो अवस्थामा म बाहिर पनि जाँदैन । काठमाण्डौमा बस्छु । सबैलाई तलव पनि दिनुप¥यो, बोनस पनि दिनुप¥यो । यस्तो बन्द भैरहेको बेला कसरी व्यवस्थापन गर्ने ? दशैँ हैन दशा भैरहेको छ ।
हामी उद्योगी व्यवसायीको मर्का सबैले बुझ्नु प¥यो । ल्याईरहेको सामान रक्सौल मा रोकिईरहेको छ, कलकत्तामा रोकिईरहेको छ । कमाउने एकडेढलाख हो, त्यो भन्दा बढी डिटेन्सलन लागिरहेको छ ।
यो बेला त हामी सबै ईन्तिजार गरीरहेका छाँै कहिले भन्सार खुल्ला होला भनेर । नाका खुल्यो भने हामी दशैँ मनाउने हैन सामान लिन जान्छौँ ।
पहिला भए रहर गरेर बाहिर घुमघाम हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । सामान्य रुपमा घरमै बसीन्छ । टिका लगाईन्छ । त्यही हो, यो पालीको दशैँ ।

Kush-kumar-joshiआमाको हातबाट टिका पनि लगाउन नपाईने भयो
कुश कुमार जोशी, म्यानेजिङ डाइरेक्टर, निक
तेल छैन । कहिँ जाने कुरा हुँदैन । यसपालीको दँशै तेलको अभावमा नै वित्ने भो । मन्दिर जाउँ जान सक्ने अवस्था छैन, घर जाने त झन कुरै छोडौँ । यो पालीको दँशै त्यती राम्रो नहुने भयो ।
आफ्नो पुख्र्यौली घर धरान गईन्थ्यो । तेलको अवस्था यस्तो छ । आमाको हातबाट टिका पनि लगाउन नपाईने भयो जस्तो छ । विराटनगर सम्मै जान सकिँदैन ।
संविधान आएकोमा खुसीयालीमा मनाउनुपर्नेमा खल्लो हुने भयो । दँशै भनेपछि रमाईलो गर्ने, घुम्न जाने, खाने, आफन्त साथीभाई दिदीबहिनी बोलाउने खाने हुन्थ्यो । तर घेराबन्दीमा वित्ने भयो यो वर्ष ।
तेलको अभाव भयो । लिम्बुबान खुम्बुवानले खोल्ने गरेको भए, अरुले गरेको भए दँशै तिहारमा खोल्ने चलन थियो । माओवादीले गर्दा समेत त्यस्तो समस्या हुँदैनथ्यो, दशैँ तिहारको लागि खोल्थे । तर यीनिहरुले के हो यस्तो, हाम्रो संस्कृतिलाई नै प्रहार गर्ने भनेपछि । पूरै नेपालीलाई निराश बनाए ।

Kamal-shresthaनेपालमा मनाउन सकिएन
कमला श्रेष्ठ , अध्यक्ष, व्यूटिसियन व्यवसायी संघ, नेपाल 
खासै यसपाली बर्षदिनको चाड भनेर दर्शन गरेर जाने र आशिर्वाद लिन जाने अवस्था छैन । हिँड्नलाई गाडी छैन, खाना पकाउनलाई चुलो बाल्ने अवस्था पनि पनि छैन । महिलाले आफै उद्यम गरेर अलिकति कमाएर दँशै मनाउने खर्च जुटाउने थिए तर सरकारले घुँडा टेकाईहाल्यो ।
म त यो अवस्थामा यहाँ नेपालमा बस्न सक्ने अवस्था भएन । सबै कुरा सकियो । पकाएर खान पनि सकिएन । बच्चाबच्चीहरु अमेरीका छन् । मेरो थाईल्याण्डमा तालिम छ । हामीहरु श्रीमान श्रीमति २ जना जाँदैछौँ । त्यहाँ दँशै धुमधाम मनाउने भन्ने कुरा त भएन । किनकी त्यहाँ आफ्ना आफन्त छैनन । श्रीमान श्रीमतिले टिका लगाउँछौँ । अनि घुमघाम गर्छौँ ।
१५ दिन तालिम लिन्छु । खर्चको कुरा गर्दाखेरी दँशै भनेको पहिलाको जस्तो दँशै रहेन । खसी काट्न, नयाँ लुगा लगाउनका लागि हो खर्च गर्ने । अहिलेको जमानामा त सँधै दँशै हो । दँशै अरुको जस्तो खर्चिलो दँशै मेरो हुँदैन, सामान्य हो । बरु आफ्नोमा काम गर्ने स्टाफहरुलाई हरुलाई दँशै खर्च दिन्छु ।