हिन्दु महिलालार्इ बोक्सी आरोपमा जागिरबाट निकाल्याे अमेरिकी सेनाले

 हिन्दु धर्म अँगालेको, योगाभ्यास गरेको आरोप
फोटो :डेबोरा स्कन्फेल्ड हनुमानको मुर्तिसँग । तस्बिर : एजेन्सी
  वासिङटन २६ असाेज : संयुक्त राज्य अमेरिकाको वायु सेनाले हिन्दु धर्म अँगालेको आरोपमा डेबोरा स्कन्फेल्डलाई सेवाबाट बर्खास्त गरेको छ ।

उनी अमेरिकी सेनामा दन्त चिकित्सकको रूपमा कार्यरत थिइन् । उनलाई बोक्सी विद्या सिकेको र कार्यालयमा भूत बोलाएको आरोप लगाइएको छ । उनले हिन्दु धर्म अँगाली, योगाभ्यास गरेको र भजन सुन्दै अदृश्य आत्मा बोलाएको भन्दै उनलाई सेवाबाट हटाइएको छ ।

डेबोरा स्कन्फेल्डका अनुसार उनी मेरिल्यान्डको एपेस मिडेमा दन्त प्राविधिक अन्तर्गत सैनिक सेवामा कार्यरत थिइन् । उनलाई सेप्टेम्बर २ तारिखमा निष्काशित गरिएको थियो । आफूमाथि धर्मकै कारण निष्काशन गरिएको भन्दै उजुरी गरेकी छिन् । उनले आफूलाई आस्थाकै कारण विभेद गरिएको बताएकी छन् ।

अमेरिकी सेनाको धार्मिक स्वतन्त्रता हेर्ने निकाय द मिलिट्री रिलिजियस फ्रिडम फाउन्डेसन (एमआरएफएफ) ले स्कन्फेल्डमाथि भूत बोलाउने गरेको र बोक्सीको आरोप लगाउँदै धार्मिक यातना दिइएको बताएको छ । उनले योगाभ्यास गर्ने गरेको र त्यो सैतानको काम भएको आरोप लगाइएको पनि एमआरएफएफले बताएको छ ।

यसैगरी हिन्दु अमेरिकी संस्थाले पनि अमेरिकी सेनामा पनि स्कन्फेल्डमाथि हिन्दु धर्म अँगालेकै कारण विभिन्न आरोप लगाइएको भन्दै विरोध गरेको छ । ‘डेबोराले भोगेजस्तो धार्मिक विभेद कुनै पनि कर्मचारीले भोग्नु लज्जास्पद हो । अरूको भावनामाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ‘, उनले भने, ‘उनलाई सेनाको जागिरबाट बर्खास्त गरिनुको अनुसन्धान गरिनुपर्ने माग गर्दछौं । सेनामा धार्मिक स्वतन्त्रता हुनुपर्ने हाम्रो माग छ ।’

स्कन्फेल्डका दुईजना सहकर्मी महिलाले क्रिस्चियन धर्म छोडेर हिन्दु बोक्सी बनेको भन्दै उजुरी गरेका थिए ।

एमआरएफएफका अध्यक्ष मिखाइल विन्स्टनले भने, ‘स्कन्फेल्डकी एक साथीले सैतानबाट मुक्ति पाएको जानकारी दिएकी थिइन् ।’

 
 

यसैगरी क्रिस्चियन चाडवाड नमनाएको र त्यस्ता खालका अभ्यासमा सहभागी नहुनु पनि उनको दोष देखाइएको उक्त संस्थाले उद्धृत गरेको छ । सैनिक सेवामा कार्यरत सबैले क्रिस्चियन भजन गाउँदा उनी हिन्दु भजन वा हिन्दी गीत सुनेको भन्दै सहकर्मीले आक्रोश व्यक्त गरेका छन् ।

यसैगरी अमेरिकी सर्वोच्च अदालतले समलैंगिक विवाहका पक्षमा दिएको निर्णयको पनि विरोध गर्न भनिएको थियो । यस्तो विवाह क्रिस्चियन मान्यताविरुद्ध भएको भन्दै आक्रोश व्यक्त गरिँदा उनले साथ नदिएको भेटिएको पनि एमआरएफएफले स्पष्ट पारेको छ । अमेरिकी सेनामा अझै पनि क्रिस्चियनलाई धर्मलाई सर्वोपरी मानेर अँगाल्नुपर्ने स्थिति रहेको दाबी गरिएको छ ।

कतिपय अधिकारीले भने उनले हिन्दु धर्म मानेकोमा दण्ड नदिएको र क्रिस्चियनका मान्यता र चाडवाड नमनाएका कारण सेवाबाट हटाइएको बताएका छन् । क्रिस्चियनबाहेकका धर्मलाई सेनामा स्थान नदिइएको त्यहाँ कार्यरत जवानले बताएका छन् ।