१ सय ९६ वटा लोड भएका ट्याङ्कर र २ सय ५३ वटा ग्यासका बुलेट नाकामै रोकिए![]()
रक्सौल र भैरहवा नाका पुर्णरुपमा सञ्चालन नहुँदासम्म उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुने नेपाल आयल निगमले जनाएको छ। भारतले नाकाबन्दी गरेलगतै रक्सौल नाकाबाट आज सोमबारसम्म इन्धन बोकेका कुनै पनि सवारी साधन नेपाल आउन नसकेको निगम प्रवक्ता दिपक बरालले जानकारी दिए।
उपत्यकामा तेलको आपुर्ति सहज हुन रक्सौल र भैरहवा नाका पुर्णरुपमा सञ्चालमा आउनु पर्ने बरालको तर्क छ। भारतले नाकाबन्दी गरेपछि असोज लागेसँगै देशभर इन्धनको समस्या देखिएको छ।
केही दिनअघिसम्म भैरहवा नाकाबाट फाटफुट आइरहेको इन्धन पनि पछिल्लो समय ५ दिनदेखि भने पूर्ण रुपमा बन्द हुँदा समस्या आएको बरालले जानकारी दिए। अन्य नाकाबाट जति डिजल, पेट्रोल र ग्यास आयात भए पनि काठमाडौंमा नआउने बरालले जानकारी दिए। रक्सौल नाका भने पुर्णरुपमा अहिलेसम्म बन्द रहेको बरालले जानकारी दिए।
उनका अनुसार सबै नाकामा गरी १ सय ९३ वटा डिजल तथा पेट्रोल बोकेका ट्ङयाकर र २ सय ५३ वटा ग्यास बुलेट बोकेका गाडी नाकामा रोकिएको छ।
त्यस्तै भारतीय आयल निगमका डिपोमा डिजल र पेट्रोल लोडका लागि १ सय ३० वटा ट्ङयाकर लाइनमा रहेको समेत बरालले जानकारी दिए। बरालका अनुसार रक्सौल नाकामा २ सय २५ वटा ग्यास बोकेका बुलेट, ६३ वटा डिजल र पेट्रोल बोकेका ट्ङयाकर नाकामा नै रोकिएको छ। भैरहवा नाकामा ३९ वटा लोड भएका डिजल र पेट्रोल बोकेका गाडी तथा १९ वटा ग्यास बोकेका बुलेट गाडी रोकिएको बरालले जानकारी दिए।
आज सोमबार भैरहवा नाकामा अवरोध नरहेको हुँदा १ वटा ग्यास बोकेको बुलेट गाडी र २ वटा डिजल बोकेको ट्ङयाकर आउन लागेको बरालले जानकारी दिए।
निगमले सञ्चित तेलबाट नै भोलि मंगलवार उपत्यकामा दसैंको लागि निजी सवारी साधनलाई ५० भन्दा बढी पम्पबाट ७ लाख लिटर पेट्रोल वितरण गर्न लागेको समेत उनले जानकारी दिए। जसमा लाइन बस्ने सबैले तेल पाउने अवस्था समेत नरहेको उनको तर्क छ। पम्पले तेल हुन्जेलसम्म लाइनमा रहेका सवारी साधनलाई तेल वितरण गर्ने बरालले जानकारी दिए।






