काठमाडौँ : सिरियामा बेचिएकी गेनु रेश्मी मगरको १७ महिनापछि उद्धार भएको छ । बिरानो देशमा सत्र महिना त्रासदी भागेर उनी अहिले नेपाल आइपुुगेकी छिन् ।
२०७१ साल वैशाख १८ गते नेपाल छाडेकी उनी २०७२ असोज १ गते काठमाडौँ आइपुगेकी हुन् । उनलाई नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रवासी श्रमिक कमिटी लगायतको पहल तथा इजिप्टस्थित नेपाली दूतावासको सहयोगमा उद्धार गरिएको हो । उनलाई सिरियास्थित उनले काम गर्ने घरबाटै उद्धार गरी नेपाल ल्याइएको हो ।
रुपन्देही बुटवलकी २५ वर्षीया गेनु मानव तस्कर मार्फत भारतहुँदै सिरिया पुगेकी थिइन । यातना, भय र मृत्युसँग साक्षात्कार गरेर नेपाल आइपुगकी उनले बुधबार जिफन्ट कार्यालयमा आफ्ना अनुभव यसरी सुनाइन् ।
सिरियाका कष्टपूर्ण १७ महिना
सिरियाको राजधानी दमास्कस सहरको अलमजदीज वजरा भन्ने स्थानको एउटा घरमा मैले १७ महिना काम गरेँ । घरमा एक महिला र तिनका दुई जवान छोराहरु थिए । महिला असाध्यै मोटी थिइन्, उनका पतिको चार वर्ष अघि मृत्यु भएको रहेछ । दुई छोरीको विवाह रहेछ भने दुई छोर अत्यन्तै बदमास रहेछन् ।
घर एक तलाको तर ठुलो र फराकिलो थियो । ५० जनासम्मको पार्टी हुँदा घरमै गर्न सक्ने खालको थियो । त्यही घरको सफाई र दुई छोरा र आमाको स्याहार सुुसार, भान्छामा बिहान सरदर ४ वा ५ बजेदेखि राती १२ बजेसम्म जोतिनु मेरो दैनिकी थियो । घर, ट्वाईलेट, बाथरुम दिनको दुई पटक सफा गुर्न पथ्र्यो, घरधनी र दुई छोराहरुको कपडा धुने, आइरन गर्ने, वेड सफा गर्ने, खाना बनाइदिने सबै काम मेरै जिम्मामा थियो ।
मेरा लागि एउटा लो वेड अट्ने सानो कुचुक्क परेको कोठा थियो । मेरा कोठामा जान भर्याङ लगाएर चढ्नु पथ्र्यो । राती सुत्ने बेला र विहान उठ्नेवेला बाहेक अरु समयमा म त्यो कोठामा चढ्न पाउँदिन थिएँ । खासमा त्यो कोठा जस्तो मात्र थियो तर कोठा थिएन ।
खानेकुरा भने उनीहरुले खाइसकेपछि बाँकी रहेका खाना मात्र मैले खान पाउँथे । उनीहरुको गाली मेरा लागि सामान्य थियो । मैले दुई छोराहरुको घोक्याई–मुन्ट्याई र कुटाई कति खाएँ, भनिसाध्य छैन । खाना नराम्रो भएको, कपडा सफा नभएको, ट्वाइलेट बाथरुम सफा नभएको, पैसा हराएको बहानामा मैले यातना खेप्नु पथ्र्यो ।
विदाको त कुरै छाडौंँ । त्यो घरको चारकिल्लाको पर्खाल बाहिरसम्म जाने मलाई अनुमति थिएन । काम गरेको ४ महिनामा मात्रै घरको वाईफाईको पासवर्ड दिएपछि मोवाईमा फेसबुक चलाएँ । फेसबुकमै परिवारसँग र म सँगै सिरिया पुर्याईएकी सजिना लामासँग कुरा गर्ने मौका पाएँ ।
लाग्थ्यो कि यो घरबाट बाहिर निस्कन पाए हुन्थ्यो, यहाँबाट हुने भए भाग्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर कम्पाउण्ड भन्दा बाहिर जान दिदैन थिए । मैले भागेर पनि जाने ठाउँ कतै थिएन पासपोर्ट घरधनीसँगै थियो
सिरियाको बारेमा जानकारी पाएँ । सिरियामा नेपाली दुतावास छैन भन्ने जानकारी पाएँ । यही समयमा मैले मेरी बहिनी हेमा रेश्मी मगरलाई मेरो दर्दनाक कथा फेसबुकमै बताए । घरमा सिसि क्यामेरा जडान गरेको थियो । यहाँसम्म कि घरभित्र भान्छा घरसम्म सिसि क्यामेरा थियो । मेरा हरेक गतिविधि उनीहरुले कम्प्युटर मार्फत हेरिरहेका हुन्थे । भोक लागेर मर्नै लागेको बेलामा समेत केही खान पाउदिन थिएँ । भात खाए कुटाई खानु पथ्र्यो । पीडा अति हुन्थ्यो ।
लाग्थ्यो कि यो घरबाट बाहिर निस्कन पाए हुन्थ्यो, यहाँबाट हुने भए भाग्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर कम्पाउण्ड भन्दा बाहिर जान दिदैन थिए । मैले भागेर पनि जाने ठाउँ कतै थिएन पासपोर्ट घरधनीसँगै थियो । यातना नभोगेको दिन हुँदैन थियो । तर, सहेर एक्लै रोएर बस्नुको कुनै विकल्प थिएन म सँग ।
घाम देख्दा दश झापटको पीडा यादै भएन
त्यो यातना गृहमा ७ महिना बिताइसकेकी थिएँ । उकुसमुकुस भएको थियो । यो नरकबाट जसरी पनि उम्किन्छु भनेर नेपालमा आमा बिरामी भएको बहाना बनाएर घरधनीसँग रोईकराई गरेर म नेपाल फर्किन्छु भने, ती महिलाले, ‘तलाई मैले ६ हजार अमेरिकी डलर तिरेर ल्याएको हुँ । फिर्ता दे अनि जा’ भनिन् । दिनरात रोइकराई गरेपछि एकदिन गाडीमा हालेर मलाई त्यो घरमा सप्लाई गर्ने कार्यालयमा पुर्याइदिए ।
म नेपाल जान्छु भन्नासाथ मेरो गालामा निरन्तर दश झापट हानिन् । तर, त्यतिबेला दश झापटको पीडा भन्दा सात महिनापछि बाहिरी संसार देख्न पाएको र घाम हेर्न पाएकोमा खुशी थिएँ ।
सात महिनापछि पहिलो पटक मैले बाहिर देख्ने मौका पाएँ । घाम देखेँ ।मलाई जस्तै विभिन्न देशका युवतीलाई सिरियाको विभिन्न घरमा सप्लाई गर्ने सिरिएन नागरिकले चलाएको कार्यालयमा काम गर्ने इन्डोनेसियन केटीले म नेपाल जान्छु भन्नासाथ मेरो गालामा निरन्तर दश झापट हानिन् । तर, त्यतिबेला दश झापटको पीडा भन्दा सात महिनापछि बाहिरी संसार देख्न पाएको र घाम हेर्न पाएकोमा खुशी थिएँ ।
रिना नाम गरेकी ति युवतीले कुटपिट गरेपछि काममा फर्र्की नत्र ५ वर्ष जेलमा हालीदिन्छु भनिन् । मेरो नेपाल फर्किने सपना त्यतिकै तुहियो जेल बस्नु भन्दा त बरु त्यही घरमै काम गर्छु भनेर फेरी त्यही घरमा फर्किए ।
बिरामी हुँदा पनि काम
यातनाका ९ महिनापछि अर्को पीडा थपियो । मेरो बायाँ छाती (वक्षस्थल) मा घाउभयो । त्यसको संक्रमण बढीरहेको थियो तर औषधि उपचार धेरै परको कुरा थियो । म सँग पैसा थिएन । भएपनि बाहिरी संसारबाट म टाढा थिएँ । एक महिना त्यतिकै बिताए । मेरो अवस्था निकै कमजोर भएपछि बल्ल अस्पताल लगे ।
डाक्टरले घाउको शल्यक्रिया गर्नु पर्छ भने पहिलो शल्यक्रियाले काम नगरेपछि दोस्रो पटक शल्यक्रिया भयो । अस्पतालमा रहदा बाहेक मैले कामबाट मुक्ति पाइन । पीडा सहेर एउटै हातले निरन्तर काम गरें । त्यस्तो अवस्थामा समेत मैले आराम पाइन । कामले लखतरान भएर खुट्टा खुम्च्याएर बस्दा पनि कुटाई खानु पथ्र्यो । बेहोस भएर तिन पटक ढलें ।
नेपाल फर्किने योजना
अब जसरी पनि यहाँबाट उन्मुक्त हुने हिम्मत गरेर अवस्थाको बारेमा बहिनी हेमालाई जानकारी दिए । बहिनी मार्फत नेपालको अनलाइन माध्यममा घरधनीको फोन नम्बर र थप विवरण सहित समाचार सार्वजनिक भएपछि मेरो बारे सबैलाई थाहा भएको हो । त्यसपछि जिफन्ट प्रवासी कमिटी मार्फत इजिप्ट राजदूतावास हुँदै मैले काम गर्ने घरमै दूतावासबाट फोन आयो ।
त्यो घरमा दुुताबास तथा अरुको फोन आउनासाथ मलाई कुटपिट गर्न थालियो । मेरो इन्टरनेट सेवा काटिदिए । मसंग झन् रिसाए, झन् काममा पेल्न थाले । मैले नेपाल फर्किदा ६ हजार डलर उनलाई दिनु पर्ने माग गर्दै आएकी ति महिलाले त्यसपछि ७ हजार ५ सय डलरको माग गर्न थालिन् ।
नेपाल फर्कने आश मर्दै गयो
सिरियाकै तीनजना नागरिकहरु घरमै आएका थिए । उनीहरुले घरधनी र मसँग पनि कुरा गरे । कस्तो भनेर सोधे मैले तिनिहरु को हुन् भन्ने सुरुमा चिनिन मलाई केही भएको छैन । मैले परिवारलाई मिस गरिराछु म नेपाल फर्किन चाहान्छु भने । उनीहरु इजिप्टको कायरो अवस्थित नेपाली राजदूतावासको पहलमा आएका रहेछन् । उनीहरुले दश दिनमा सबै काम हुने बताए ।
घरमा फोन गरेर पैसा माग भन्न थालिन् । तर, म प्रतिको व्यवहारमा केही नरमपन आइरहेको थियो । के खान्छेस भन्दै सोध्न थालेका थिए । दोस्रो पटक पुन तिनै सिरियनहरु आए त्यतिवेला मलाई भान्छाघरमा थुनेर राखे ।
तिनीहरु आउनु अघि मलाई घरधनीले सुरुमा नुहाउन लगाइन् । मेकअप गर्न लगाइन, कपाल खुल्ला छाड्न लगाइन, नयाँ कपडा लगाउन भनिन् । म अचम्ममा परेँ, म फेरी बिक्री भएंकी क्याहो भन्ने लागिरहेको थियो । दूतावासका प्रतिनिधिसामू विभेद भएको छैन भनेर मालिक्निीले मलाई सफा भएर बस्न निर्देशन दिएकी रहिछन् । जब तिनीहरु गए जाने वित्तिकै मसँग घरधनीले ६ हजार डलर माग्न थाले । घरमा फोन गरेर पैसा माग भन्न थालिन् । तर, म प्रतिको व्यवहारमा केही नरमपन आइरहेको थियो । के खान्छेस भन्दै सोध्न थालेका थिए । दोस्रो पटक पुन तिनै सिरियनहरु आए त्यतिवेला मलाई भान्छाघरमा थुनेर राखे ।
तेरो पासपोर्ट लिएर गएका छन्, टिकट बनाएर ल्याउछन् अब तँ नेपाल जान्छेस् भन्यो तर ढांटेका रहेछन् पासपोर्ट तिनैसँग रहेछ । यसरी तिन महिना यत्तिकै बितिसकको थियो, मेरो नेपाल फर्किने आस पनि मर्दै गइरहेको थियो ।
हिड्नेवेला मेरो मुखमा थुकिन्
मलाई लिन सिरियनहरु आउदै रहेछ । मलाई तयारी हुन लगाइयो । कपडाहरु प्याक गर्न लगाइन् । व्याग तयारी गरे मेरो खुशीको सीमा थिएन । आमा र छोराहरु तिनै जना आए मेरो प्याक गरिएको ब्याग खोले उनीहरुले मलाई दिएका कपडाहरु एक एक सबै झिके । त्यसपछि मेरो शरीर पुरै खानतलासी लिए । मैले उभिएर साथ दिइरहें मेरो शरीरबाट केही फेला पारेनन् । अन्तिममा मालिक्निीले मेरो मुखमा थुकिदिइ । मैले केही भनिन । उनीहरु ढोका घड्याप्प थुनेर भित्र पसे ।
सत्र महिनाको पारिश्रमिक
१७ महिना त्यो घरमा काम गरेकी थिएँ । ति मध्ये १ सय ६० डलर प्रति महिनाको हिसाबले ६ महिनाको तलव दुई किस्ता गरी तिनै रोजगारदाताले घर पठाइदिएका थिए । बाँकी दश महिनाको तलव पाउनु थियो । हिड्ने बेलामा मलाई उद्धार गर्न आएका सिरियाका नागरिकले बन्द ढोका ढकढकाएर काम गरेको पैसा दे भनेर कराए ।
उनीहरु बाहिर निस्किएर एउटा दश र दुई वटा ५ को डलर थमाइदिदै बाँकी पैसा बिरामी हुँदा उपचार खर्च, भिषा शुल्क बापत खर्च भएको बरु अझै आफुले पाउनु पर्ने भन्दै फेरी ढोका लगाए । पैसा भन्दा पनि मेरा लागि नेपाल फर्किनु महत्वपूर्ण थियो । म यतिकै जान्छु भने ।
सिरिया— लेवनन बोर्डरमा समस्या
सिरियाबाट लेवनन बोर्डर हुदै इजिप्टको कायरो जानु थियो । मलाई ट्याक्सीमा राखेर ल्याइदै थियो मसँग जहाजको टिकट थियो तर पासपोर्टमा भिषा लागेको थिएन ।
त्यही कारण मलाई बोर्डरबाट छिर्न दिइएन हामी सिरिया तर्फ फर्कियौँ । वहाँहरुले इजिप्टको दूतावासमा जानकारी गराउनु भयो । दुतावासले पुन बोर्डरमा अनुरोध गरेपछि भएपछि छिर्न दियो । त्यो रात इजिप्ट स्थित राजदुतावासमै मलाई बस्ने व्यवस्था मिलाइयो । मैले दूतावासका कर्मचारीका परिवारसँगै बसेर खाना खाएँ ।
नेपाल टेक्दा खुशीले बेहोस
बेरुतबाट दुवई हुँदै २०७२ असोज २ गते अपरान्ह ५ बजेर १० जाँदा म काठमाडौँ ओर्लिए । नेपालको माटो टेक्दा अनुभूत भएको खुशी म व्यक्त गर्नै सक्दिन । म बेहोस जस्तै भएँ । बहिनी हेमालाई देख्दा म कति रुन्छु होला जस्तो लागेको थियो तर अरु नेपालीलाई हेर्दा हेर्दै म त बेहोस भएछु ।
एजेण्ट शोभाकान्त भट्टराईले दिल्लीको बाटो जानु पर्छ भन्दै काठमाडौँबाट २ जना युवतीहरु (पुजा लामा हेटौँडा, सजिना लामा धरान) काठमामाडौँबाट लिएर बुटवल पुगे ।
यसरी पुगेँ सिरिया
घरको आर्थिक अवस्था राम्रो थिएन । बुटवल शंकरनगर वडा नम्बर ३ मै अढाई लाख ऋण लिएर भएका केही पैसा लगानी गरेर बहिनी हेमासँग २०७० मंसिरमा ब्युटी पार्लर खोलेका थियौँ । ५ महिना भइसकेको थियो । खासै व्यापार भएको थिएन । ऋण तिर्न नसकेपछि पीडा भयो । वैदेशिक रोजगारीमा दुवई गएका दाइको काम गर्ने क्रममा हातमा गम्भीर चोट लागेर फर्किनु भएको थियो । घर चलाउन समेत धौ धौ परिरहेको थियो ।
मेरी छिमेक साथीका दाइ शोभाकान्त भट्टराई पेशाले वैदेशिक रोजगारमा मान्छे पठाउने एजेण्ट थिए । उनले मेरा सबै राम कहानीका देखेका थिए । उनले मलाई भेटेर दुवईको एउटा कम्पनीको कार्यालयमै काम गर्ने महिला कामदारको माग आएकोछ कमाउने राम्रो चान्स छ जान्छौ भने म मिलाइदिन्छु भने ।
८० हजार लाग्छ जानु अघि भिषा र प्रशासनिक खर्चका लागि ३० हजार दिनु बाँकी कमाएर मलाई दिँदा हुन्छ भने । पार्लर नचलीरहेको, घरको आर्थिक संकट तत्काल थोरै पैसा भए पुग्ने मलाई के खोज्छस् कानो आँखो भनै झै लाग्यो । दुई वर्ष दुःख गर्छु राम्रै कमाउछु । घरका सबै समस्या समाधान गर्छु भन्ने मनमा अनेक कुरा खेले । घरमा बुबालाई सोधें ठिकै छ जाउ न त भन्नुभयो । मैले जाने निर्णय गर्दै ३० हजार बुझाएँ ।
बाटो सुनौलीको
एजेण्ट शोभाकान्त भट्टराईले दिल्लीको बाटो जानु पर्छ भन्दै काठमाडौँबाट २ जना युवतीहरु (पुजा लामा हेटौँडा, सजिना लामा धरान) काठमामाडौँबाट लिएर बुटवल पुगे । मैले किन दिल्लीबाट भनेर सोधे उनले काठमाडाँंबाट जाँदा १ लाख लाग्ने भो अनि तिम्रो उमेर पनि २५ वर्ष मात्र भएकाले भारतबाट जानु पर्ने भो भने । दुई जना अरु युवती पनि रहेकाले केही बोलीन । हामी २०७१ बैशाख १८ गते सुनौली नाकाहुदैँ भारतको दिल्ली हिड्यौँ । करिब २४ घण्टाको यात्रा पछि दिल्ली पुग्यौँ ।
दिल्लीमा सात दिन
दिल्लीमा सात दिन बस्यौँ । हामीसँगै थिए शोभाकान्त उनले दिल्लीस्थित पन्चु लामा नामका व्यक्तिको चाइनिज रेष्टुरेन्टमा पुर्याए । त्यहाँ अरु युवती पनि थिए । अब रमाइलो गर्नु पर्छ दुवई पुगेपछि रमाइलो गर्न पाइन्न भन्दै हामीलाई एसी जडित कारमा राखेर इण्डिया गेट घुमाउन लगे । त्यही वेलामा सम्झना हुन्छ भन्दै फोटो पनि खिच्यौँ । त्यही बेला खसी काटेर समेत खुवाए । मैले ५ हजार बोकेको थिए केही किनमेल पनि गरेँ ।


उनको तलव वापत घर मालिकले दिएको २० डलर ।
सिरिया र अमेरिका उस्तै हो
अब उड्ने भनेर हामी तिनै जनालाई बैशाख २४ गते एयरपोर्ट लगियो । साथमा पन्चु लामा पनि थिए । तर, हाम्रो टिकट नै बनेको रहेनछ । हामी त्यतिकै फर्कियौँ । एयरपोर्ट काउण्टरमा पन्चुले सिरिया जाने टिकट भनेको सुनेकी थिएँ ।
म त सिररिया होइन दुवईको लागि आएको सिररियाको टिकट किन भनेर सोधे । दुवईमा तिमीले काम गर्ने मेडम सिररिया गएकी रहेछिन् । त्यही भएर तिमी पनि सिररिया जानुपर्छ । ‘एक महिना पछि फेरी दुवई आउने हो’ शोभाकान्तले भन । उनले धेरै सिररियामा बस्नु पर्दैन ।
सिरिया र अमेरिका उस्तै देश हो । त्यहा अमेरिकी डलर चल्छ । राम्रो देश हो भनेर मलाई फकाए । त्यस वेलासम्म मैले सिरिया भन्ने देशको नामसम्म सुनेको थिइन । मेरो मनमा शंका उब्जन थाले । मलाई शंका लागेपनि हाम्रो पासपोर्ट र कागजात सबै शोभाकान्त र पन्चुको कब्जामा थियो ।
त्यही वेला एकजना आफुलाई डा. बसाम सिरियाको भन्थे उनले हामीलाई एक सय दिराम पैसा दिए । हाम्रो फोटो खिचेर गए । हामी सुतिरहेकै थियौँ एकजना आएर हाम्रो पासपोर्ट मागेर लगे एक वजे जहाज चढ्यौँ
एयरपोर्टमा अलपत्र
हामी वैशाख २५ गते दिल्लीबाट राती ९ जे उड्यौँ । ११ बजे ओमान ओर्लियौँ बिहान ५ वजे दुवईको जहाज चढ्नु थियो । तर, टिकटको पैसा तिरेका रहेनछन् । भएभरको कागजपत्र देखाईसक्यौं । हामीलाई दुवई जाने जहाज चढ्न दिएन, एयरपोर्टमै रोकियौँ । सजिना अलिअलि अग्रेजी पनि बोल्थी । उनैले दिल्लीमा पन्चुलाई फोन गरिन् । त्यसपछि पन्चु र शोभाकान्तकै मान्छेहरु त्यहा पनि रहेछन् । तिनीहरुले टिकट मिलाई दिएपछि हामी दुवई पुग्यौँ । दुबईमा दुईदिन एयरपोर्टमै अलपत्र भयौँ ।
यात्रा, भोक र तनावको थकानले दुवईको सारजहा एयरपोर्टमा दुईदिन हामी तिनै जना सुतेरै बितायौँ । हामीसँग पैसा पनि थिएन । खानेकुरा पनि केही थिएन । हामी आँखा उघार्नसक्ने अवस्थामा पनि थिएनौँ । त्यही वेला एकजना आफुलाई डा. बसाम सिरियाको भन्थे उनले हामीलाई एक सय दिराम पैसा दिए । हाम्रो फोटो खिचेर गए । हामी सुतिरहेकै थियौँ एकजना आएर हाम्रो पासपोर्ट मागेर लगे एक वजे जहाज चढ्यौँ । अपरान्ह ४ वजे सिरिया ओर्लियौँ ।
एयरपोर्टमा रुवावासी
हाम्रो पासपोर्ट हेर्ने वित्तिकै हामीलाई बाहिर जान दिएनन् । एयरपोर्टका कर्मचारीहरुले सबै निस्किसके हामी तिनजना मात्र भयौँ । सबै पुरुषहरु थिए । अरबीमा कुरा गर्थे तर के भन्थे हामीले बुझ्न सकेका थिएनौँ । सबैले हामीलाई नै हेर्थे । भोकले हामी तिनै जना हैरान थियौँ । रात पर्दै थियो बल्ल साँझ ७ बजे हामीलाई लिन मान्छे आयो । त्यसले मलाई र पुजालाई मात्र तान्यो तर सजिनालाई त्यही राख्यो हामी तिनै जना रुन थाल्यौँ । ्र
हामीलाई जबरजस्ती तान्यो र सिसाको ढोका भएको बाट बाहिर निकाल्यो सजिना भित्रबाट हामी बाहिरबाट चिच्याईचिच्याई रोइरहेका थियौँ । हामीलाई बाहिर राखेर लिन आउनेले केही हस्ताक्षर गरेको देख्यौँ । करिव १५ मिनट पछि सजिनालाई पनि ल्यायो । हामी फेरी रोयौँ । एउटा कारमा हालेर हामीलाई बाहिर लगे । हामी तिनैजान एकअर्काको हात समातेर रोइरहेका थियौँ । करिव १५ मिनटको यात्रापछि एउटा भवन पु¥याए ।
बेचिएको बल्ल थाहाभयो

एक जना इन्डोनेसियन महिला र दुई सिरियन पुरुष थिए । उनीहरुले अरवी भाषामा कुरा गरिरहेका थिए । हामीलाई रातभरी त्यही राखियो । त्यहा अरु पनि युवतीहरु थिए । सजिना अलि चतुर थिइन् । बुझ्दै जादा यो फ्याट युवतीहरु सप्लाई गर्ने मुख्य कार्यालय रहेछ ।
विभिन्न देशबाट ल्याईएका युवतीलाई त्यही फ्याटबाट सिरियाभरी पठाइदोरहेछ । हामीलाई पनि पठाइएको ठाउंमा काम गर्न भनियो । हामीले नेपाल फर्कन्छौँ भन्यौँ । एजेण्टलाई ६ हजार डलर दिएर तिमिहरुलाई हामीले किनेका हौँ । नेपाल जान्छौं भने पैसा दिएर जाउ भने । तत्काल हाम्रो मेडिकल परिक्षण गरियो ।
यसरी बाध्य भयौं काम गर्न
काम गर्दैनौ देश फर्कन्छौं भन्ने इन्डोनेसियन केटीलाई ट्वाईलेटमा थुन्यो । बंगाली केटीलाई तातोपानी खन्याएर यातना दियो । यस्तो यातना देखेपछि हामी आतियौँ । बरु काम गरौं भन्ने सल्लाह गर्यौँ । सुरुमा पुजालाई लग्यो । त्यसपछि मेरो पालो आयो । मलाई हमात अहदे नाम गरेको केटोले मैले काम गर्ने घरमा पुर्याइदिएको थियो ।
गेनुलाई उद्धार गर्ने सहयोगीहरु

गेनुका विषयमा समाचार आएपछि जिफन्ट प्रबासी कमिटीकी संयोजक निशा बानियाँले उनको उद्धारका लागि ईजिप्टस्थित नेपाली राजदुतावासका कार्यबाहक राजदूत कौशलकिशोर रायलाई पत्राचार गरेको थियो । २०७२ असार १ गते गरिएको पत्रमा गेनुको विवरण उनले काम गर्ने घरको फोन नम्बर सहित गरिएको थियो ।
जसका कारण राजदूत रायलाई काम गर्न सहज भएको थियो । गेनुलाई सिरियाबाट बेरुतसम्म ल्याउने गाडी भाडा तथा एक वर्षको भिषा चार्ज १ हजार ८ सय डलर समेत जिफन्टले खर्च गरेरको प्रवास कमिटीले जनाएको छ । पत्रकार मनोज श्रेष्ठले हलोखबरडटकम मार्फत सामाचार सार्वजनिक गरेपछि गेनु उद्धारमा जिफन्ट प्रवास कमिटीले प्रकृया थालेको हो ।
गेनुको सल्लाह
पार्लरको ऋण तिर्ने र घरको आर्थिक समस्याको समाधान गर्ने सपना बोकेर विदेसिएकी गेनु यातनाको चोट र पीडाको बोझ बोकेर नेपाल फर्किएकी छिन् । उनी भन्छिन्, ‘म अहिले घरमा परिवारसँगै छु तर सिरियामै पो छु कि जस्तो गरी बेलाबेला झस्किन्छु ।’
सँगै सिरिया गएकी पुजा र सजिना कहाँ छन् ? कस्तो अवस्थामा छन् ? अहिले गेनुलाई पनि थाहा छैन । सिरिया पुगेको ४ महिना हुँदा सजिनासंग फेसबुकमा सम्पर्क भएको थियो ।
म अरुको लहैलहैमा लागेर विदेश गए आखिर के पाएँ ? नबुझी गएँ अन्तिममा सरकारलाई गुहार मागेर सवैसँग सहयोग मागेर फर्किएँ । एजेण्टले जतीकुरा भन्छन् त्यसको लोभमा म जस्तै कोही दिदीबहिनी नफस्नुहोस् । सकेसम्म नजानुस जाँदा बुझेर जानुहोस् । म जस्तो हावाको तालमा नजानुहोस् । यत्तिबेला गेनुलाई विक्री गर्ने शोभाकान्त भट्टराई नेपाली चेली बेचेको अभियोगमा जेलको चिसो छिठीमा छन् । गेनु सरकारले शोभाकान्त प्रवृतिको अन्त्य गर्नुपर्ने माग गर्छिन् ।
कहाँ छन् पुजा र सजिना ?
सँगै सिरिया गएकी पुजा र सजिना कहाँ छन् ? कस्तो अवस्थामा छन् ? अहिले गेनुलाई पनि थाहा छैन । सिरिया पुगेको ४ महिना हुँदा सजिनासंग फेसबुकमा सम्पर्क भएको थियो । त्यसपछि सम्पर्कमा छैनन । उनीहरुलाई पनि तत्काल उद्धार गर्नुपर्छ, उनले भनिन् ।






