-
काठमाण्डाै २४ असाेज । खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन्।
धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन्।
उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए।
दुई वर्षे करार सम्झौतामा अलजजिरा सपोर्ट सर्भिस कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले हालसम्म काम पाउन सकेका छैनन्। गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न लटमा गरी साउदी आएका उनीहरु हराजस्थित दुईवटा क्याम्पमा बेरोजगार भएर बस्न बाध्य छन्।
एक हजार तलब र दुई सय खानासहित १२ सय साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुःखेसो गरे।
मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभनमा पारेर आफूसँग एक लाख २० हजार रुपैयाँ लिएको उनले बताए। ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने, बस्नेसम्म टुङ्गो छैन, समालले भने – “आएको दिनदेखि नै चिसो भुइँमा सुतेका छौँ।”
पीडित समालका अनुसार कम्पनीले खानाको लागि दुई सय साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन। समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन इगल मेनपावरलाई एक लाख पाँच हजार रुपैयाँ बुझाएर उक्त कम्पनीमा आएको बताए। लाखौँ रुपैयाँ मेनपावर कम्पनीलाई बुझाएर आए पनि काम पाउन नसक्दा पीडित बन्नुपरेको राउतले गुनासो गरे। आफूसँगै उक्त क्याम्पमा रहेका एक सय नेपालीले हालसम्म काम नपाएको राउतले बताए।
गोल्डेन इगल मेनपावरमार्फत नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खालीहात बस्नुपर्दा घरपरिवारसमेत तनावमा रहेको बताए।
रोजगारीका लागि साउदी पुगेका एक सय नेपाली अलपत्र






