अाजदेखि सबै डेरी उद्योग बन्द हुने

काठमाडौँ २३ असोज । आजदेखि देशभरका दुग्ध प्रशोधन उद्योग तथा बिक्री केन्द्र (डेरी) बन्द हुने भएका छन् । असोज ६ गतेदेखि भारतले नाकाबन्दी गरेका कारण पेट्रोलियम पदार्थको चर्को अभाव भएपछि करिव एक सय ५७ वटा डेरी र केही प्रशोधन उद्योग बन्द हुन लागेको हो ।
डेरी उद्योग बन्द भएपछि दैनिक दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्री वितरण गरि जीवन गुजारा गर्ने करिव चार लाख ५० हजार किसान प्रभावित हुनेछन् ।
यसअघि, नेपाल आयल निगमले दुग्ध व्यवसायीलाई दूध र दुग्ध पदार्थ ढुवानीका लागि दैनिक छ हजार लिटर डिजल उपलब्ध गराउदै आएको थियो । ुमागअनुसारको डिजेल उपलब्ध गराउन निगमले आनाकानी गरेका कारण आइतबारदेखि दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र बन्द गर्न लागेका हौँ,ु नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने ।
नेपालमा सरकारीस्तरबाट उपभोक्तालाई दूध र दुग्ध पदार्थ बिक्री वितरण गर्न २०२६ सालमा दुग्ध विकास संस्थान स्थापना गरिएको हो ।
विसं २०२७ सालदेखि निजी क्षेत्रले दुग्ध प्रशोधन केन्द्र तथा डेरी स्थापना गर्न थालेपछि यहाँ उपभोक्ताको मागअनुसारको ६० प्रतिशत दुग्ध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण गर्न सकेको दाबी डेरी उद्योग सङ्घका अध्यक्ष प्रदीप महर्जन गर्छन् । उनका अनुसार अहिले दुग्ध किसानको हातमा दैनिक तीन करोड रुपैयाँ पर्छ ।
करिव १५ अर्ब रुपैयाँ लगानी रहेको यस उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । निजी क्षेत्रबाट करिव पाँच लाख लिटर दूधको कारोबार भइरहेको अनुमान छ । रासस