विराटनगर, २३ असोज । विराटनगरको रानी भन्सार नाकामा प्रहरी र आन्दोनलकारीबीच झडप भएको छ । शनिवार नाकामा धर्ना बस्न खोजेका मधेसी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाएपछि भागेका अन्दोलनकारीहरुले नेपालका सुरक्षाकर्मीहरुलाई भारतीय भूमिबाट ढुंगा प्रहार गरेका हुन् ।
नेपालतर्फको सीमानाकाबाट भागेर भारततर्फ गएका उनीहरुले नेपालतर्फका प्रहरीलाई ढुंगाप्रहार गर्न थालेपछि भारतीय प्रहरीले आन्दोलनकारीलाई लखेटेपछि आन्दोलनकारीहरु तितरवितर भएका हुन् ।
झण्डै डेढ सयको संख्यामा रहेका मधेसी दलका कार्यकर्ताहरु त्याहाँबाट तितरवितर भएको प्रहरी नायव उपरीक्षक सहमद खरेलले बताए । भन्सारमा नेपाल र भारततर्फका सुरक्षा निकायको समन्वय भएको देखिएको स्थानीयले बताए ।
इन्धनसहितका ६८ ट्रक भित्रिए
विराटनगरको रानी भन्सारबाट शनिवार ६८ वटा ट्रक नेपाल भित्रिएको छ । ती ट्रकमध्ये १२ वटा डिजल ट्याङकर र २ वटा पेट्रोल ट्यांकर रहेको रानी भन्सार कार्यालयले जनाएको छ ।






