काठमाडौं, २३ असोज । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरेकोमा एकीकृत नेकपा माओवादीका २९ जना नेताहरुले विरोध गरेका छन्। ओलीलाई समर्थन गरेका केही घण्टाभित्रै उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी निर्णयको विरोध गरेका छन्।
देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, नवराज सुवेदी, रामचन्द्र झालगायतका २९ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी बहुमतीय सरकार गठनमा एमालेलाई समर्थन गर्ने निर्णयको विरोध गरेका हुन्।
देशको समस्या समाधानको ठोस र भरपर्दो आधार विना नै एमालेलाई समर्थन गरेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानु पवर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर एवं आश्चर्यचकित बनाएको छ।’






