अलपत्र फिल्म सुकुलगुन्डा

आश्विन २२, २०७२- फिल्म सुकुलगुन्डाको घोषणा गर्दा निर्देशक मधुसूदन भट्टराईको चुरीफुरी बेग्लै थियो । किनभने, चल्तीका अभिनेता जीवन लुईंटेललाई मुख्य भूमिकामा अनुबन्ध गराउन सफल भएका थिए । जीवनको अभिनय रहने भएपछि सुकुलगुन्डाले स्वाभाविक रूपमा चर्चा बटुल्यो, सुटिङ सुरु भएदेखि नै । तर, अढाइ वर्ष बितिसक्यो, यो फिल्मको अत्तोपत्तो सुनिएको छैन । सुटिङ सकिए पनि पोस्ट प्रोडक्सनका क्रममा फिल्म अलपत्र भएको चर्चा छ ।

जबकि, यसभन्दा पछाडि जीवन अनुबन्ध भएका आधा दर्जन फिल्म प्रदर्शन भइसकेका छन् तर सुकुलगुन्डा कहिले प्रदर्शन हुने अझ टुंगो लागेको छैन । रिलिजका लागि तयार फिल्मले त डेट नपाइरहेका बेला सम्पादनमै अल्झिएको फिल्मको हालत के होला, आफैँ अनुमान गर्न सकिन्छ । सुकुलगुन्डा गुमनाम बनेपछि जीवनभन्दा हिरोइन खुस्बु खड्काको बढी टाउको दुखेको छ । बल्लतल्ल पाएको फिल्मकै यस्तो हालत भएपछि पिर नपरोस् पनि कसरी !