प्रहरी जाँचचौकी आक्रमणमा बाह्रको मृत्यु

उत्तर अफगानिस्तानको जवजान प्रान्तमा शनिबार आतङ्ककारीको एक समूहले प्रहरी जाँच चौकीमा गरेको आक्रमणमा सात सुरक्षा अधिकारी र पाँच आतङ्ककारीको मृत्यु भएको  छ ।  जवजान प्रान्तको प्रान्तीय राजधानी सिबिरघाानको दक्षिणपश्चिममा पर्ने कुस टिपा जिल्लामा रहेको अफगान स्थानीय प्रहरी (एएलपी) जाँचचौकीलाई लक्ष्यगरी अज्ञात सङ्ख्यामा आएका प्रहरीले आक्रमण गरेका प्रान्तीय प्रहरी प्रमुखले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ ।
शनिबार मध्यरातमा सुरु भएको यस आक्रमणपछिको आतङ्ककारी र प्रहरीबीचको झडप आइतबार बिहानसम्म पनि जारीरहेको बताइएको छ । सोही झडपको क्रममा सात एएलपी सदस्यको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रहरी प्रमुख फकिर मोहमाद जवजानीले बताउनु भएको छ ।
सोही झडपको क्रममा पाँच आतङ्ककारी मारिनुका साथै अन्य पाँच घाइते भएका पनि जवजानीले बताउनु भएको छ । यस  महिना अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका छन् । सो समयपछि अफगानिस्तानको भविष्यका बारेमा चिन्ता व्यक्त गरिन थालेको छ ।
आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आतङकवादी विरुद्ध रणभूमिमै खटिई लड्न नजाने तर  अफगानी सुरक्षा शक्तिलाई सैन्य मनोबल बढाउने, तालिम दिने, युद्धकला सिकाउने र मुलुकमा शान्ति बहाल नरहेसम्म अन्य सबै खाले सामरिक सहयोग गर्ने भएको छ  ।  त्यसैगरी अफगानिस्तानमा तालिवान आतङ्ककारीसँगको लडाइँमा सन् २०१० मा एक लाख ४० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर करिब १३ हजारमा आउने भएको छ । अर्थात् यसै महिनाको अन्त्यबाट अफगानिस्तानमा रहेका नेटो आवद्ध प्रायः सैनिकले अफगानिस्तान छोड्ने छन् ।
सन् २०१५ बाट नेटो आवद्ध १३ हजार सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।  सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।